पूर्वमन्त्रीका पिताको कोरोनाबाट मृत्यु, १५०० मलामी, गाउँमा त्रास
किरियापुत्री सहितको स्वाब आज संकलन गर्ने
काठमाडौं । पूर्वमन्त्री मोहनबहादुर बस्नेतका पिता खड्कबहादुर बस्नेतको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको छ । काठमाडौं महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर सेन्टर उपचारको क्रममा साउन २२ गते उहाँको निधन भएको थियो । ८४ वर्षीय बस्नेतको मिर्गौलाको समस्याका कारण मृत्यु भएको भनिए पनि उहाँलाई कोरोना संक्रमण भएको हिजो मात्रै पुष्टि भयो।
आइसीयूमा उपचाररत अवस्थामा उहाँको स्वाब संकलन गरी पठाइएकोमा मृत्यु भएको ४ दिनपछि पीसीआर परीक्षणको रिपोर्ट आएको हो । ८४ वर्षीय बस्नेतको मृत्युपछि उहाँको शव परिवारले गृहजिल्ला सिन्धुपाल्चोकमा लगेर दाहसंस्कार गरेका थिए । उहाँको अन्त्येष्टिमा १५०० भन्दा बढी मलामी सहभागी भएको जनाइएको छ । त्यसपछि पनि उहाँको घरमा पुगी थुप्रैले परिवारका सदस्यसँग भेटघाट समेत गरेका छन् । जसमा पूर्वमन्त्री र सांसदहरुसमेत रहेको बुझिएको छ ।

अस्पतालले पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर मृतकको काेराेना रिपोर्ट नआइकन परिवारलाई शव दिएर गम्भीर गल्ती गरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । जन्मस्थान सिन्धुपाल्चोकको बाह्रबिसेमा उहाँको अन्त्येष्टि गरिएको थियो ।
कोरोना संक्रमणको पुष्टि भएपछि मृतकको अन्तिम संस्कारमा सहभागीलगायत सिंगै सिन्धुपाल्चोक जिल्लामासमेत त्रास फैलिएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सिन्धुपाल्चाेकले मंगलबार जरुरी सूचना जारी गर्दै अन्त्येष्टि र भेटघाटमा सहभागी सबैलाई आ–आफ्नै घरमा सुरक्षितरुपमा क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ ।
अब के हुन्छ ?
किरियापुत्रीसहित करिब ५०–६० जनाको आज स्वाब संकलन गर्ने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिनुभयो । ‘अहिले सबैको परीक्षण गर्न सम्भव देखिँदैन, प्रजिअ ढकालले भन्नुभयो– ‘अहिले ५०–६० जनाको स्वाब संकलन गर्छौँ त्यसको रिपोर्ट आएपछि अन्यको परीक्षण गर्ने नगर्ने यकीन हुन्छ’ । सम्पर्कमा आएका र अन्तिम संस्कारमा सहभागी सबैलाई सुरक्षितरुपमा होम क्वारेन्टाइनमा बस्न भनिएको उहाँले बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत