कोरोनाको उपचारमा रेम्डिसिभिर प्रयोगका लागि विभागले माग्याे आवेदन
काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना भाइरस रोगका संक्रमितको उपचारका लागि रेम्डिसिभिर औषधिको क्लिनिकल परीक्षणका लागि सहभागी हुन अस्पतालहरुलाई आव्हान गरेको छ । विभागले सूचना जारी गरि कोरोना संक्रमितको उपचारमा यो औषधि प्रयोग गर्नका लागि इच्छुक अस्पताललाई आवेदन दिन अपिल गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २६ गते रेम्डिसिभिर औषधि प्रयोगको लागि अध्ययन गर्ने निर्णय गरेको थियो । मन्त्रालयले तोकेको अस्पतालले मात्रै रेम्डिसिभिर औषधिको प्रयोग गर्न पाउनेछन् । रेम्डिसिभिर सम्बन्धित चिकित्सकको सिफारिस तथा प्रत्यक्ष निगरानी र बिरामीको अनुमतिमा प्रयोग गर्न मिल्ने मन्त्रालयले जनाएको छ ।
कोरोनाका बिरामी बढ्दै गएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, कोभिड उपचार निर्देशिकाअनुसार र स्वास्थ्य प्रविधि मूल्यांकन समितिको सिफारिसमा मन्त्रालयले यो औषधिको प्रयोग गर्न प्रक्रियाका लागि अनुमति दिएको हो । भारत लगायतका देशमा यो औषधि गम्भीर किसिमका संक्रमितलाई प्रयोग भइरहेको छ र यसको नतिजा प्रभावकारी देखिएको छ ।
नेपालमा हालसम्म २३ हजार ९४८ जनालाई कोरोना पुष्टि भएको छ । जसमा ७ हजार २०१ जना सक्रिय संक्रमित छन् भने ८३ संक्रमितको मृत्यु भइसकेको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये अहिले ८५ जना आइसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत छन् ।
हेल्थपाटी 
तपाईँको अभिमत