मास्क प्रयोग गर्दा ८० प्रतिशतसम्म संक्रमण घटाउन सकिन्छ
काठमाडौं । गत डिसेम्बरको अन्त्यतिर चीनको युहानमा नयाँ किसिमको कोरोना भाइरस देखा पर्यो । उक्त भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न थाल्यो । विश्व स्वास्थ्य संगठनले विश्व महामारीको रूप लिन सक्ने चेतावनी दियो । नभन्दै त्यसले महामारीकै रूप लियो ।
उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीले फेस मास्क र सिल्ड प्रयोग गर्न थाले । अर्थात् पर्सनल प्रोटेक्सन इक्विप्मेन्ट प्रयोग गर्न थाले । सर्वसाधारणले पनि कोरोनाबाट बच्न मास्क लगाउन थाले । विशेषगरी सर्जिकल मास्क र एन–९५ मास्कको माग बढ्यो । कतिपयले सुरुवातमा सामान्य व्यक्तिले मास्क लगाउनु नपर्ने तर्क प्रस्तुत गरे ।
तैपनि अहिले धेरैजसो मुलुकले सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने नीति ल्याएका छन् । तर के मास्कले कोरोबाट जोगाउँछ त ? प्रश्न अझै खडा छ ।‘द ल्यान्सेट’ स्वास्थ्य जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार मास्क प्रयोग गर्दा ‘तुलनात्मक रूपमा ६–८० प्रतिशतसम्म संक्रमण घटाउन’ सकिन्छ ।
मास्क प्रयोग गर्दा कोभिड–१९ बाट मात्र नभएर सार्स र मर्स जस्ता स्वासप्रस्वास सम्बन्धी रोगबाट बच्न सकिने अध्ययनमा उल्लेख छ । तर यसरी मास्कले सुरक्षा गर्ने प्रतिशतमा फरक हुनुमा यसको किसिम र प्रयोग गर्ने तरिका तथा प्रयोगकर्तामा भर पर्ने अध्ययन प्रतिवेदनमा भनिएको छ ।
मास्क किन प्रयोग गर्ने ?
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले रोग सर्नबाट रोक्नका लागि मास्क प्रयोग गर्नुपर्ने बताएको छ । त्यस्तै ‘द ल्यान्सेट’ जर्नलमा प्रकाशित अध्ययनमा पनि रोग सर्ने स्रोतलाई रोक्न फेस मास्क प्रयोग गर्नुपर्ने भनिएको छ । ‘मेडिकल मास्कले संक्रमणबाट जोगाउन सक्छ’, डब्लूएचओले भनेको छ, ‘लक्षण भएका मानिसबाट संक्रमण फैलिनबाट पनि बचाउँछ ।’
यसको मतलब मास्क कोरोना संक्रमण फैलिन नदिन वा यसबाट जोगिनका लागि प्रयोग गर्नुपर्छ । कोरोनाका कारण हुने कोभिड–१९ बाट मात्र नभएर स्वासप्रस्वासका रोगबाट बच्न पनि मास्क महत्वपूर्ण छ । यतिबेला सबैले मास्क अनिवार्य लगाउनुपर्ने नीति धेरै देशहरूले लिइसकेका छन् । कतिपय स्थानमा मास्क प्रयोग नगरी सार्वजनिक स्थालमा पुग्ने व्यक्तिलाई कारबाही समेत प्रशासनले गर्ने गरेको छ ।
ल्यान्सेट जर्नलमा प्रकाशित अध्ययनका अनुसार मेडिकल मास्क स्वास्थ्यकर्मी, बिरामी तथा आम जनता लगाउँदा फलदायी हुन्छ । डब्लूएचओले पनि स्वास्थ्यकर्मी, बिरामी, बिरामीका कुरुवा लगायतले मास्क प्रयोग गर्नुपर्ने बताएको छ । त्यस्तै सार्वजनिक स्थलहरूमा जाँदा वा शंकास्पद स्थानमा जाँदा फेस मेडिकल मास्क वा सर्जिकल मास्क प्रयोग गर्न सुझाव दिएको छ ।
यसैगरी उक्त अध्ययनका अनुसार भौगोलिक र संक्रमणको अवस्था अनुसार पनि मास्क प्रयोग गर्नुपर्छ । धेरै संक्रमण भएका स्थानमा फैलिने सम्भावना पनि बढी भएकाले अमेरिका, ब्राजिल तथा भारत लगायतका देशहरूमा मास्क प्रयोग बढी गरिनुपर्ने देखिन्छ ।
कस्तो मास्क लगाउने ?
डब्लूएचओले कपडाको मास्क लगाएर निश्चित दूरी कायम गरे भाइरसबाट जोगिन सकिने बताएको छ । ‘संक्रमण फैलिनबाट रोक्न कपडाको मास्क आफैमा पर्याप्त छैन’, डब्लूएचओले भनेको छ, ‘कम्तिमा एक मिटरको शारीरिक दूरी पनि कायम गर्नुपर्छ ।’ यससँगै कपडाको मास्कमा केही ‘लेयर’ हुनुपर्ने पनि डब्लूएचओले बताएको छ ।
ल्यान्सेट जर्नलमा प्रकाशित अध्ययनमा भने कस्तो मास्क प्रयोग गर्ने भन्ने सन्दर्भमा निर्णायक स्थानमा रहेका व्यक्तिले निर्णय गर्नुपर्ने भनिएको छ । अझै पनि मास्कको गुणस्तरीयता तथा प्रकार लगायतका विषयमा अन्यौलता भएका कारण यस्तो भनिएको हो । ती निर्णयकर्ताले जोखिमको आधार, मूल्य, स्विकार्यता, सम्भाव्यता लगायतका कुरालाई मध्यनजर गरी छनोट गर्नुपर्ने भनिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत