“काठमाडौंको सबै स्थानमा संक्रमण देखियो सावधानी अपनाऊँ”
काठमाडौंमा ५०० भन्दा बढी संक्रमित
काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा कोरोना भाइरस रोग (कोभिड–१९) बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित घनाबस्तीहरुमा संक्रमण बढ्न थालेकाले सावधानी अपनाउन बारम्बार आग्रह गर्दै आएको छ ।
मन्त्रालयले बिहीबार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौंमा ७६, ललितपुरमा १० र भक्तपुरमा १ गरि थप ८७ जनालाई कोरोना पुष्टि भएको छ । काठमाडौं पनि बिहीबारबाट ५०० भन्दा बढी संक्रमित रहेको जिल्लामा परेको छ ।
संक्रमण बढ्दै जाँदा अस्पतालको बेड, उपकरण तथा स्वास्थ्यकर्मीहरुको अभाव हुनसक्नेतर्फ सचेत गराउँदै प्रवक्ता प्रा.डा जागेश्वर गौतमले रोग लाग्ननै नदिनेतर्फ ख्याल गर्नुपर्ने बताउनुभयो । उहाँले अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गर्दै ६० वर्षभन्दा माथि र १२ वर्षभन्दा कम उमेरका व्यक्तिहरुलाई घरबाट बाहिर जान नदिन अपिल गर्नुभयो ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.बासुदेव पाण्डेले काठमाडौं उपत्यकाका सबै स्थानमा संक्रमण देखिएको बताउँदै उच्च सावधानी अपनाउन सबैलाई आग्रह गर्नुभयो । उहाँले हाल विभिन्न अस्पतालहरुमा पीसीआर परीक्षण भइरहेको बताउँदै संक्रमितहरु छरिएर रहेको पाइएको बताउनुभयो ।
संक्रमणको जोखिम बढ्दै गएको छ, स्वास्थ्य सुरक्षा अपनाउनु नै यसबाट जोगिनु हो पाण्डेले भन्नुभयो, काठमाडौंका सबै स्थानमा संक्रमण देखिएको छ तर समुदायमा संक्रमण फैलिएको भन्न चाँहि मिल्दैन ।
पछिल्ला केहि दिनयता स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत अग्र स्थानमा खटिने व्यक्तिहरुलाई संक्रमण भइरहेको उहाँले बताउनुभयो ।
उहाँले हालसम्म संक्रमण देखिएकामध्ये ५०–६० प्रतिशत संक्रमितको ट्राभल हिस्ट्री रहेको र केहीको ट्राभल हिस्ट्री नरहेको पाइए पनि उनीहरुको सम्पर्क संक्रमितसँग रहेको पाइएको बताउनुभयो ।
हालसम्म नेपालमा २१ हजार ७५० जनालाई कोरोना पुष्टि भएको छ भने १५ हजार ३८९ जना निको भएका छन् । ६५ संक्रमितको मृत्यु भइसकेको छ ।
तपाईँको अभिमत