भोलिदेखि सवारीमा जोर बिजोर प्रणाली लागू, राती ९ देखि बिहान ५ बजेसम्म आवागमनमा रोक
काठमाडौं । कोरोना भाइरस रोग (कोेभिड -१९) को संक्रमण बढ्दै गएपछि सरकारले रोकथाम तथा न्यूनीकरणका लागि नयाँ नियम लागू गरेको छ । भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणालि लागू गरिएको गृहमन्त्रालयले जनाएको छ ।
गृहमन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा र उपत्यकाबाहिर २०० जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर बिजोर प्रणालि अनुसार चल्न दिइनेछ । यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्न, मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने व्यक्तिलाई कारबाही गर्न पनि निर्दशन दिइएको छ ।
काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक दुवानी बाहेकका अन्य सबै यात्रुवाहक सवारी साधनहरुलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागु गर्न तथा बेलुका ९ देखि बिहान ५ बजेसम्म आवागमनलाई रोक लगाइएको छ ।
यसैगरी नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्नुका साथै होटल, रेष्टुरेण्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला गर्न पाइने छैन ।
कोरोनाको संक्रमणको जोखिमको विश्लेषण गरि जोखिम बढेको क्षेत्र, स्थानलाई जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले निर्णय गरि तुरुन्त बन्द गर्ने र कोरोनाको थप परीक्षणको व्यवस्था मिलाउन पनि भनिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत