जर्मनीमा लकडाउनविरुद्ध भएकाे प्रदर्शनमा ४५ प्रहरी घाइते
बर्लिन । बर्लिनमा कोरोना भाइरसपछि लगाइएको प्रतिबन्धका विरुद्ध भएको प्रदर्शनमा ४५ प्रहरी अधिकारी घाइते भएका छन् । एक साता लामो भएको प्रदर्शन शनिबार र आइतबार भने अलि उग्र बनेको थियो । घाइते प्रहरीमध्ये तीन जना अस्पताल भर्ना भएकाे प्रहरीलाई उद्दृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
शनिबार भएको प्रदर्शनमा १३३ प्रदर्शनकारी समातिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रहरी अधिकारीलाई प्रतिरोध गरेको तथा संविधान विरुद्ध गई शान्ति बिथोल्न खोजेको आरोपमा उनीहरूलाई समातिएको हो ।
प्रदर्शनमा करिब २० हजार मानिस सहभागी भएका थिए । ती प्रदर्शनकारीले साढे एक मिटरको दूरी कायम गरेको बताइएको छ । तर मास्क भने लगाएका थिएनन् । कोरोना कालमा प्रदर्शन गर्न पाइने भए पनि शनिबारको जस्तो प्रदर्शन भने गर्न नहुने स्वास्थ्यमन्त्री जेन्स स्पानले बताउनुभयो । ‘हो, प्रदर्शन कोरोनाको समयमा पनि सम्भव हुनुपर्छ, तर यो तरिका होइन’, उहाँले भन्नुभयो, ‘दूरी, स्वच्छ नियम र मास्कले हामी सबैलाई सुरक्षा गर्छ, त्यसैले हामी सबै एकअर्कालाई सम्मानित व्यवहार गर्छौँ ।’
पछिल्लो समय जर्मनीमा कोरोना संक्रमण दर घटेको छ । तैपनि केही प्रतिबन्धहरू भने अझै लगाइएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत