'अमेरिकामा कोरोना संक्रमण पहिलेभन्दा भयावह र खतरातिर'
वासिङटन डिसी । अमेरिकामा पहिलेभन्दा कोरोना संक्रमण भयावह र यसको परिणाम खतरनाक हुने ह्वाइट हाउस कोरोना टस्क फोर्सकी संयोजक डा. डेबोरा बिक्र्सले बताउनु भएको छ । आइतबार सीएनएनसँग कुरा गर्दै उहाँले अमेरिका कोरोना संक्रमणको नयाँ चरणमा प्रवेशसँगै झनै संक्रमण फैलिने र भयावह हुने बताउनु भएको हो ।
‘मार्च र अप्रिलमा भन्दा अहिले फरक स्थिति देखिन्छ’, डा. बिक्र्सले भन्नुभयो, ‘यो असाधारण रूपमा फैलिएको छ ।’ उहाँले अमेरिकी सबैले स्वास्थ्य सावधानी अपनाउनुपर्ने पनि बताउनुभयो । सार्वजनिक स्थलहरूमा निस्कदा अनिवार्य मास्क प्रयोग गर्न तथा सामाजिक दूरी कायम गर्न उहाँले सुझाव दिनुभयो । ‘यदि तपाईं संयुक्त परिवारमा हुनुहुन्छ र तपाईंको ग्रामीण क्षेत्रमा कोरोना फैलिएको छ भने घरमै बस्दा पनि आपूmलाई कोरोना पोजिटिभ भएको ठानी मास्क अनिवार्य रूपमा लाउनुहोस्’, उहाँले भन्नुभयो, ‘ग्रामीण र सहरी क्षेत्रमा उस्तै अवस्था छ ।’
सरकारले कोरोना विरुद्ध नयाँ प्रभावकारी रणनीति नल्याए वर्षको अन्त्यसम्ममा अहिलेको मृतक संख्या दोब्बर हुने डा. स्कट गोटलिएबले चेतावनी दिनुभएको छ । उहाँका अनुसार डिसेम्बरको अन्त्यमा कोरोनाबाट मृत्यु हुने अमेरिकीको संख्या ३ लाख पुग्नेछ ।
डा. बिक्र्सले भने दक्षिणी र पश्चिमी राज्यहरूमा लागू गरिने स्वास्थ्य रणनीतिमा मृतक संख्या भर पर्ने बताउनुभयो । अहिले ती क्षेत्रका राज्यहरू कोरोनाको ‘हट स्पट’ बनेका छन् ।
तपाईँको अभिमत