काठमाडौं आउने सबै क्वारेन्टिन बस्नुपर्छ : प्रा.डा.जागेश्वर गौतम
हेलचक्र्याईले संक्रमण बढ्यो
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो आँकडाअनुसार देशभर २० हजार ३३२ जनालाई कोरोना भाइरस रोग (कोभिड १९) को पुष्टि भएको छ । जसमा हाल ५ हजार ६७२ सक्रिय संक्रमित छन् । लकडाउनको बेलाभन्दा संक्रमण दर घटेको भए पनि लकडाउन खुलेको पछिल्लो ११ दिनमा संक्रमण दर बढेको देखिन्छ ।
काठमाडौं लगायत तराईका जिल्लाहरुमा संक्रमित बढेका छन् । संक्रमित बढेसँगै क्षेत्रगत रुपमा लकडाउन गरिएको छ । लक्षण भएका बिरामीहरु बढ्न थालेका छन् । यस्तो अवस्थामा कोरोनाको उपचार, नियन्त्रण र भावि योजनाका विषयमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमसँग हेल्थपाटीले गरेको संक्षिप्त कुराकानी :
लकडाउन खुलेपछि देशभर संक्रमण दर बढेको देखिन्छ नि ?
लकडाउन खुल्नुभन्दा ११ दिन अगाडि र पछाडिको अवस्था हेर्दा संक्रमण दर बढेको हो । यो भनेको एक हजारमा ९ बढेको हो । तर समग्रमा होइन । गत महिना संक्रमण दर ८—९ प्रतिशत थियो । अहिले बढिमा ३ दशमलव ६ प्रतिशत छ । आइतबार संक्रमण दर २ दशमलव ७७ प्रतिशत थियो ।
केहि दिनयता काठमाडौंमा नयाँ संक्रमित धेरै देखिन थालेको छ, के कारणले यहाँ संक्रमण फैलिरहेको छ ?
पहिलो कुरा लकडाउन खुलेसँगै बजारमा चहलपहल बढेको छ । धेरै समयको बन्दाबन्दीका कारण बाहिर निस्कन उत्साहित हुनु स्वभाविक पनि हो तर यहाँ बाहिर निस्कदा न मास्क लगाएका छन् न भौतिक दुरी कायम गरेका छन्, नत साबुन पानीले हात नै धोएका छन् अथवा सेनेट्राइज नै गरेका छन् । जसले संक्रमण बढाइरहेको छ ।
उपत्यका बाहिरबाट आउनेहरुलाई पनि संक्रमण देखिएको छ । नाकामा स्वाब दिएर उनीहरु विना सावधानी भीडमा जाँदा रहेछन् । कोरोना पुष्टि भएपछि कहाँ हुनुहुन्छ भनेर फोन गर्दा म न्यूरोड भन्छन् यस्तो अवस्था छ अनि संक्रमण फैलिँदैन ? नागरिक स्वंयम् सचेत भएनन् भने स्थिति भयावह हुन्छ र अस्पतालका बेड खाली हुँदैनन् ।
प्रभावित स्थानबाट आएकाहरुलाई रिपोर्ट नआउन्जेल सेल्फ आइसोलेट भएर बस्नुस् भनिदैन ?
भनिन्छ । तर उनीहरु ढाँट्छन्, आफ्नो स्वास्थ्यबारे चिन्ता नगरि जनस्वास्थ्यका मापदण्ड नअपनाई हिँड्छन् अनि जोखिम त बढ्ने नै भयो ।
उनीहरुको निगरानी किन भइरहेको छैन त ?
हो । निगरानी गर्नुपर्छ । यो स्थानिय निकायले गर्ने हो । काठमाडौंको हकमा महानगरपालिकाले गर्ने हो । तर प्रभावकारी व्यवस्थापन हुन सकिरहेका छैन । हामीले भनिरहेका छौ, नाका हुँदै काठमाडौं भित्रिएकालाई निगरानीमा राख्नु, सम्पर्क गरिराख्नु तर पोजेटिभ देखिएपछि उनीहरुलाई खोज्न कठिन हुन्छ ।
के अब लकडाउन फेरी हुन्छ ?
लकडाउनको कुरा गर्ने अहिले त्यस्तो केही छलफल भएको छैन । तर सावधानी अपनाइन भने पक्का संक्रमण बढ्छ, बढ्छ । जनस्वास्थ्यका मापदण्ड अपनाउनैपर्छ । यदि यो अपनाउन सकिएन भने काठमाडौंमा पनि फेरि लकडाउन हुनसक्छ । अहिलेको कुरा भनेको क्षेत्रगत रुपमा लकडाउन गर्ने हो । जहाँ जहाँ संक्रमण धेरै देखिन्छ,त्यहाँ गर्ने हो ।
वीरगञ्जको अवस्था के हो ?
त्यहाँको अवस्था बुझ्न महानिर्देशकको नेतृत्वमा एक टोलि अनुगमनका लागि जानुभएको छ । त्यो टोलिले संक्रमण धेरै देखिएका स्थानको अनुगमन गर्नेछ । केही केही क्षेत्रमा धेरै संक्रमण देखिएको हो तर अहिले समुदायमा फैलिएको भने होइन ।
संक्रमण रोकथामका लागि भावि योजना के छ ?
अब काठमाडौं भित्रने मुख्य तीन नाकाबाट आउनेलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने मापदण्ड अन्तिम चरणमा छ । हाललाई काठमाडौं आउनेको स्वाब संकलन सकियो । स्वाब संकलन नगरेपनि मापदण्ड जारी भएपछि बाहिरबाट आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्छ ।
यस्तै सिमानामा नै क्वारेन्टिन बनाएर पालिका वा प्रदेशले १४ दिन अनिबार्य राख्नु पर्छ । पीसीआर गरेर मात्र घरमा पठाउनु पर्छ । प्लेनमा आउनेलाइ पनि ६ दिन पछि स्वाब जाँच गरेर नेगेटिभ आएमा घरमै राख्नु पर्छ । अहिले भारतबाट दैनिक ८ सय जति मानिस आइरहेका छन् । उनीहरुलाई सिमामा नै क्वारेन्टिनमा राखिरहेका छौ ।
अन्त्यमा,
कोरोनाबाट जोगिने उपाय भनेको जनस्वास्थ्यका मापदण्ड अपनाउनु नै हो । यसो नभए यसबाट जोगिदैन । संक्रमणको शिकारमा आफु त परिन्छनै र अरुलाई समेत सखाप बनाउँछ । अहिले नै सावधानी अपनाए, भेन्टिलेटरसम्म पुग्नै पर्दैन । वेवास्ता गर्दै हिडे भेन्टिलेटरसम्म पु्याउन सक्न जतिबेला स्रोत र साधनले धान्न नसक्ने भइसकेको हुन्छ ।
तपाईँको अभिमत