काठमाडौं प्रमुखसहित ३१२ ट्राफिक प्रहरी क्वारेन्टाइनमा, मापसे जाँच हुने
काठमाडौं । दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण देखिएपछि ३१२ जना ट्राफिक प्रहरी क्वारेन्टाइनमा बसेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंका प्रमुख एसएसपी भीम प्रसाद ढकालसहित ३१२ जना क्वारेन्टाइनमा बसेको एसएसपी ढकालले जानकारी दिनुभयो ।
आफूसहितका ३१२ जना कार्यालयमै क्वारेन्टाइनमा बसेको र त्यहीबाट कार्यालयको काम समेत गरिरहेको ढकालले बताउनुभयो । ठूलो संख्यामा ट्राफिक प्रहरी क्वारेन्टाइनमा बस्नुपरे पनि जनशक्ति अभाव नहुने गरी व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो।
कोरोना संक्रमणको त्रासका बीच पनि मादक पदार्थ सेवन गरी सवारी चलाउनेको चेकजाँच भने जारी रहेको एसएसपी ढकालको भनाइ छ । शंका लागेको व्यक्तिलाई सिधै अस्पताल लगेर मापसे परीक्षण गरिने उहाँले बताउनु भयो। महाशाखामा कार्यारत दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण रहेको शुक्रबार पुष्टि भएको थियो। महाशाखालाई पूरै सिल गरिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत