महामारीबीच दादुरा–रुबेला अभियानमा लक्ष्यभन्दा बढीलाई खोप
कोरोना महामारीको यस्तो असहज परिस्थितिमा पूर्ण सावधानी अपनाइ सुरक्षित साथ लक्ष्यअनुसार खोप कार्यक्रम सम्पन्न गर्यौ गौतमले भन्नुभयो, “यो अन्य मुलकका लागिसमेत उदाहरणीय छ ।”
काठमाडौं । विश्वव्यापी कोरोना महामारीले विभिन्न देशमा खोप लगायतका स्वास्थ्य कार्यक्रम प्रभावित भइरहेको अवस्थामा नेपालले दादुरा रुबेला खोप अभियानमा लक्ष्यभन्दा धेरै सफलता हात पारेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाअनुसार दुई चरणमा सञ्चालन गरिएको दादुरा रुबेला अभियानमा ९ महिनादेखि ५ वर्ष मुनिका २५ लाख ४८ हजार ३३६ बालबालिकालाई खोप लगाउने उद्धेश्य रहेकोमा लक्ष्यभन्दा १५ हजार ४७४ बढी बालबालिकाले खोप पाएका छन् ।
प्रदेश १ मा ४ लाख १४ हजार ६९४, प्रदेश २ मा ७ लाख १७ हजार २४३, बागमती प्रदेशमा ४ लाख ५ हजार ३१८, गण्डकी प्रदेशमा १ लाख ८३ हजार ४७३, कर्णाली प्रदेशमा १ लाख ६० हजार ८४८, प्रदेश ५ मा ४ लाख ४९ हजार ५०९ र सुदूरपश्चिममा २ लाख ३२ हजार ७२५ बालबालिका खोपको पहुँचमा आएका छन् ।
यस्तै अभियानमा छुटेका बालबालिकालाई घर–घर खोजेर १४ हजार ८०१ जनालाई खोप लगाइएको खोपशाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो । कोरोना महामारीको यस्तो असहज परिस्थितिमा पूर्ण सावधानी अपनाइ सुरक्षित साथ लक्ष्यअनुसार खोप कार्यक्रम सम्पन्न गर्यौ गौतमले भन्नुभयो, “यो अन्य मुलकका लागिसमेत उदाहरणीय छ ।”
कोरोनाको जोखिम त छँदैछ, वर्षायाममा बाढी र पहिरोलाई छिचोलेर स्वास्थ्यकर्मीहरु घर आँगनसम्म पुगेर बालबालिकालाई खोप लगाएको भन्दै गौतमले स्वास्थ्यकर्मीको प्रशंसा गर्नुभयो । साथै उहाँले खोप कार्यक्रमका लागि निर्देश गर्ने स्वास्थ्य मन्त्रालय तथा साझेदारी संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । अभियानमा ९ हजार स्वास्थ्यकर्मी ,१ लाख स्वयमसेवक, ५ हजार सुपरभाइजर खटिएका थिए ।
नेपालमा पहिलोपटक सन् २००४ देखि दादुरा रुबेला खोप सञ्चालन भएको थियो । त्यसयता प्रत्येक ४/४ वर्षमा खोप अभियान हुँदै आएको छ ।
खोपबाट बालबालिकाहरु छुट्दा देशका विभिन्न स्थानमा दादुराका बिरामी भेटिन थालेपछि छुटेका बालबाालिकालाई खोज्न महाशाखाले ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकाका लागि अभियान सञ्चालन गरेको थियो । गत फागुन र चैतमा दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भनिएकोमा ३४ जिल्लामा पहिलो चरणको खोप निर्धारित कार्यक्रम अनुसार सम्पन्न भएको थियो भने ४३ जिल्लामा कोरोनाका कारण रोकिएको थियो ।
कोरोना संक्रमण बढेपछि जोखिम न्यूनीकरणका लागि स्वास्थ्य मन्त्रालयले चैत १० गते दादुरा रुबेला अभियान स्थगित गर्ने निर्णय गर्यो । जसका कारण बीचमा केही समय खोप कार्यक्रम प्रभावित भयो । यसैगरी खोप अयिानसँगै तराईका १९ जिल्लामा सञ्चालन गरिएको पोलियो थोपा कार्यक्रममा १६ लाख ३७ हजार २६५ बालबालिका सहभागी भएका थिए ।
खोप कार्यक्रम रोकिँदा बालबालिकामा अन्य स्वास्थ्य समस्या बढ्ने जोखिम देखिएपछि सर्वाेच्च अदालतले बैशाख १९ गते दादुरा रुबेला खोप कार्यक्रम अघि बढाउन आदेश दियो । त्यसपछि रोकिएको दादुरा रुबेला कार्यक्रम पुनः सञ्चालनमा आएको थियो । दादुरा रुबेला खोप अभियान असार २३ गते सकिएको थियो ।
सरकारले जसरी पनि सन् २०२३ सम्ममा नेपालबाट दादुरा रुवेला निवारण गर्नुपर्नेछ ।
नेपालमा पहिलोपटक सन् २००४ देखि दादुरा रुबेला खोप सञ्चालन भएको थियो । त्यसयता प्रत्येक ४/४ वर्षमा खोप अभियान हुँदै आएको छ । सन् २००४ मा १०४ प्रतिशत, २००८ मा ९३ प्रतिशत, २०१२ मा १०१ प्रतिशत,२०१५ मा ९१ र २०१६ मा १०१ प्रतिशत बालबालिकाले खोप पाएका थिए ।
सरकारले सन् २०१९ मा नेपालबाट दादुरा रुवेला निवारण गर्ने लक्ष्य लिए पनि बालबालिकाहरु दादुरा रुबेला खोपबाट छुटेपछि यो लक्ष्य पूरा हुन सकेन । यो अभियान निवारणकै लागि सञ्चालन गरिएको महाशाखाले जनाएको छ । दादुरा रुवेला खोप ९ महिना र १५ महिनामा दुई मात्रा दिने गरिन्छ ।
यद्यपि सरकारले जसरी पनि सन् २०२३ सम्ममा नेपालबाट दादुरा/रुवेला निवारण गर्नुपर्नेछ । दादुरा रुवेला निवारण घोषणा हुन ९५ प्रतिशत कभरेज हुनुपर्छ ।
रुबेला रोग भएमा हाडजोर्नी सुन्निने वा दुख्ने, रक्तश्राव हुने तथा मस्तिष्कमा कडा खालको असर देखिने हुने गर्दछ । यस्तै दादुरा रोग लागेमा हुने जटिलताहरु आँखामा समस्या भइ अन्धोपन हुने, झाडापखाला र कुपोषण, कान पाक्ने, श्वासप्रश्वासको कडा संक्रमण हुने, मष्तिष्क ज्वरो आउने, कम्पन हुने गर्दछ ।
तुलसा घिमिरे
तपाईँको अभिमत