देशभर थपिए २७४ कोराना संक्रमित, २२७ डिस्चार्ज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २७४ जनालाई कोरोना भाइरस रोग(कोभिड –१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले काठमाडौंका ४१, ललितपुरका २ र भक्तपुरका २ सहित देशभर २७४ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल देशभर ५ हजार २२७ जना सक्रिय संक्रमित रहेका छन् । आज २७४ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ । उहाँले ६ हजार ३०४ जनाको पीसीआर परीक्षण गरिएकोमा २७४ जनालाई कोरोना पुष्टि भएको हो ।
यसैगरी प्रवक्ता गौतमका अनुसार लकडाउन खुलेपछि साउन ७ देखि १५ गतेसम्म ४० हजार ४१३ नमुना परीक्षण भएकोमा १ हजार ५५३ जनामा कोरोना पुष्टि भएको छ । यस्तै असार २९ देखि साउन ६ गतेसम्म ४० हजार ३१३ जनाको पीसीआर परीक्षण भएकोमा १ हजार १९३ जनामा कोरोना पुष्टि भएको थियो । लकडाउन खुलेपछि संक्रमणको दर शून्य दशमलव ८ प्रतिशतले बढेको छ ।
पछिल्लो २४ घण्टामा २२७ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १४ हजार २४८ पुगेको छ । हाल १३ हजार २०१ जना क्वारेन्टिनमा बसिरहेका छन् । पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएपछि मृतकको संख्या ५२ पुगेको छ । वीरगञ्जका २ र मोरङका १ जनाको साउन १४ गते उपचारका क्रममा मृत्यु भएको थियो ।
हेल्थपाटी 
तपाईँको अभिमत