कोरोनाका कुन-कुन खोप परीक्षणको अन्तिम चरणमा ?

प्रतिकारात्मक तस्बिर
कोरोना भाइरसले निम्त्याउने कोभिड–१९ रोगबाट विश्व आक्रान्त छ । विश्वभर १ करोड ६६ लाख ६५ हजार जना बराबर संक्रमित तथा ६ लाख ५९ हजारको मृत्यु भइसकेको यो महामारीलाई रोक्न अनेकौँ उपायहरू अपनाइएका छन् । तर पूर्ण रूपमा नियन्त्रण गर्नका लागि यसविरुद्धको खोप निर्माण अपरिहार्य छ । अहिले खोप विकासमा विभिन्न वैज्ञानिक समूहले तीव्र रूपमा काम गरिरहेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वभर २५ वटा सम्भावित खोपहरू विकासको चरणमा छन् । यीमध्ये केही खोप विकासको तेस्रो अर्थात् अन्तिम चरणमा रहेका छन् । तैपनि अझै ती खोप पूर्ण रूपमा सफल हुने कुनै ग्यारेन्टी छैन । त्यसैले विश्व समुदाय पूर्ण सफलताको अपेक्षासहित यसको विकासको पर्खाइमा रहेको छ ।
कुन कुन खोप अन्तिम चरणमा पुगेका छन् ?
अक्स्फोर्ड कोरोना खोप
अक्स्फोर्ड विश्वविद्यालयको कोरोना खोप परियोजना ChAdOx1 मा स्वीडेनको फर्मा कम्पनी एस्ट्राजेनेका पनि सामेल छ । यसको परीक्षण विश्वका विभिन्न देशमा चलिरहेको छ । मे महिनामा डब्लूएचओका प्रमुख वैज्ञानिक सौम्या विश्वनाथनले अक्स्फोर्डको यो परियोजना सबभन्दा एडभान्स कोरोना खोप भएको बताएका थिए । बेलायतमा अप्रिल महिनामा यसको पहिलो र दोस्रो चरणका परीक्षण एकैसाथ गरिएको थियो । १८ देखि ५५ वर्षका १ हजार भन्दा बढी स्वयम्सेवकमा गरिएको उक्त परीक्षणमा व्यक्तिको प्रतिरोधात्मक क्षमता विकास भएको पाइएको थियो ।
अक्स्फोर्ड विश्वविद्यालयको यो खोप परियोजना अब परीक्षणको तेस्रो अर्थात् अन्तिम चरणमा रहेको छ । यस चरणमा ५० हजार स्वयम्सेवकले सहभागिता जनाउने सम्भावना रहेको छ । यस चरणमा दक्षिण अफ्रिका, अमेरिका, बेलायत तथा ब्राजिल लगायतका देशका स्वयम्सेवकले भाग लिने जनाइएको छ । यो अन्तिम चरणको परीक्षणको नतिजा पनि सकारात्मक भएमा अक्स्फोर्ड विश्वविद्यालयका शोध समूह यस वर्षको अन्त्यसम्ममा बेलायतको नियामक संस्था ‘मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी’ (एमएचआरए) कहाँ दर्ताका लागि आवेदन दिन पुग्ने छ ।
मोडर्न कोरोना खोप
यो खोप पनि परीक्षणको अन्तिम चरणमा रहेको बताइएको छ । अमेरिकामा विकास भइरहेको यस खोपको कम्पनीले सोमबार सो जानकारी दिएको हो । अन्तिम चरणमा करिब ३० हजार जनामा परीक्षण गरिने बताइएको छ । यस खोप निर्माण परियोजनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्ध निर्माण भइरहेको सबभन्दा तीव्र परियोजना बताएका छन् ।
यस परियोजनामा अमेरिकाको नेशनल इन्स्टीच्यूट अफ हेल्थ (एनआईएच) समेत सामेल रहेको छ । एनआईएचका निर्देशक फ्रान्सिस कोलिन्सका अनुसार यो खोप यसै वर्षको अन्तिमसम्ममा विकास गरिसक्ने लक्ष्य रहेको छ ।
चिनियाँ कोरोना खोप
चीनको निजी फर्मा कम्पनी सिनोवैक बायोटेकले विकास गरिरहेको खोप परीक्षणको अन्तिम चरणमा रहेको छ । अक्स्फोर्ड र मोडर्न खोप पश्चात परीक्षणको अन्तिम चरणमा पुग्नेवाला यो विश्वकै तेस्रो खोप परियोजना हो । CoronaVac नाम दिइएको यो खोपको अहिले ब्राजिलमा ९ हजार स्वयम्सेवकमा परीक्षण चलिरहेको छ । यही रफ्तारमा यो खोपको विकास र परीक्षण सफल भएमा अर्को वर्षको सुरुवातमा यसले सरकारसँग प्रयोगका लागि अनुमति आवेदन दिनेछ ।
सिनोवैक बायोटेकले सन् २००२–००३ को बीचमा फैलिएको सार्स महामारीका विरुद्ध पनि खोप निर्माण थालनी गरेको थियो । विश्वभर ७७४ को ज्यान लिएको उक्त महामारीविरुद्ध खोपको पहिलो चरण परीक्षण गर्दागर्दै साम्य भएको थियो । जसका कारण कम्पनीले परियोजना बन्द गर्नुपरेको थियो । यसले कम्पनीलाई ठूलो नोक्सान भएको थियो ।
अहिले १७ वर्षपछि कोभिड–१९ महामारी विश्वव्यापी भएको छ । सिनोवैकले अहिले आफ्नो पुरानो अनुसन्धान पुनः सुरु गरेको हो । किनकी कोभिड–१९ सार्स महामारीसँग मिल्दोजुल्दो रहेको छ ।
फाइजर तथा बायोएनटेकको खोप
अमेरिकी फर्मा कम्पनी ‘फाइजर’ तथा जर्मन कम्पनी ‘बायोएनटेक’ मिलेर एक कोरोना खोप परियोजना BNT162b2 मा काम भइरहेको छ । सोमबार दुबै कम्पनीले संयुक्त भनाइ जारी गर्दै यसको परीक्षण अन्तिम चरणमा पुगेको बताएका छन् । यदि यो परीक्षण सफल भएमा अक्टोबरको अन्त्यमा सरकारी अनुमतिका लागि आवेदन दिन सक्नेछ । यस परियोजनाले २०२० को अन्त्यमा करिब १० करोड तथा २०२१ को अन्तिमसम्ममा १ अर्ब ३० करोड खोप उत्पादन गर्ने लक्ष्य लिएको छ ।
प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने दाबी गरिएको यस खोपको दुई डोज दिइने बताइएको छ । अहिले विश्वका १२० स्थानमा यसको परीक्षण चलिरहेको छ । यसको अन्तिम चरणको परीक्षणमा ३० हजार स्वयम्सेवकले सहभागिता जनाउने सम्भावना रहेको छ । अमेरिकाले फाइजरसँग १० करोड डोज खरिद गर्ने सम्झौता पहिले नै गरेको छ । त्यस्तै आवश्यकता परेमा ५० करोड खोप कम्पनीले अमेरिकालाई आपूर्ति गर्ने बताइएको छ ।
(एजेन्सीको सहयोगमा)
तुलसा घिमिरे
तपाईँको अभिमत