काठमाडाैंमा पत्रकारलाई पनि कोरोना संक्रमण

प्रतिकारात्मक तस्बिर
काठमाडौं । आज काठमाडाैं उपत्यकामा ५३ जनालाई कोरोना भाइरस रोग (कोभिड-१९) पुष्टि भएको छ । जसमध्ये एकजना पत्रकार रहेको खुलेको छ । उहाँ सर्लाहीबाट एक हप्ता अगाडि मात्रै काठमाडौं आउनुभएको थियो । ३५ वर्षका पत्रकारलाई ज्वरो र खोकी लागेपछि पीसीआर परीक्षण गरिएको थियो ।
आजै कोरोना पुष्टि भएका उहाँले आफूलाई समाचार संकलनकै क्रममा संक्रमण भएको हुनसक्ने शंका गर्नुभएको छ । उच्च सावधानी अपनाउँदा अपनाउँदै आफूलाई संक्रमण भएकाले उहाँले सबैलाई अनावश्यक घरबाट बाहिर ननिस्कन आग्रह गर्नुभयो ।
उहाँले हेल्थपाटीसँग आफ्नो स्वास्थ्य अवस्थामा सुधार आएको र केही समयमा आफू कोरोनामुक्त हुने विश्वास लिनुभएको छ । संक्रमित पत्रकारले पत्रकार महासंघ र घर परिवारसँग सल्लाह गरि आफ्नो परिचय सार्वजनिक गर्ने बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दिउँसो ४ बजेको अद्यावधिक विवरण अनुसार २४ घण्टामा १३१ जना संक्रमित थपिएका छन् । हालसम्म देशभर १९ हजार ६३ जनालाई कोरोना पुष्टि भएको छ भने ४९ संक्रमितको मृत्यु भएको छ । यस्तै निको हुनेको संख्या १३ हजार ७७५ रहेको छ ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत