मास्क नलगाई हिँड्नेबाट १२ हजार जरिवाना उठ्याे
सप्तरी । मास्क नलगाई हिँड्नेलाई सप्तरी प्रशासनले कारवाही गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता तिलक भारतीका अनुसार मंगलबार राजविराज बजार, कञ्चनरुप, कल्याणपुर, शम्भुनाथ लगायतका ठाउँमा मास्क नलगाई हिँड्ने १२३ लाई नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका १२३ जनाबाट प्रतिव्यक्ति रु १०० जरिवाना तिराएर छाड्ने गरेको जिल्ला प्रशासन कार्यालय, सप्तरीले जनाएको छ । जसबापत १२ हजार ३०० रुपैयाँ राजस्व सङ्कलन हुने प्रशासकीय अधिकृत आनन्द ठाकुरले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतबार सूचना जारी गर्दै सार्वजनिक स्थानमा हिँडडुल गर्दा अनिवार्य मास्क लगाउन आग्रह गरेको थियो । सूचनामा मास्क नलगाउनेलाई कारवाही गर्ने चेतावनी दिइएको थियो ।
मास्क नलगाई सार्वजनिकस्थलमा हिँडडुल गर्नेलाई दुई दिन सचेत गराइएपछि निर्णय अवज्ञा गर्नेलाई आजदेखि नियन्त्रणमा लिई जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । गल्ती गर्नेलाई कानूनअनुसार जरिवाना गरिए पनि कोरोना सङ्क्रमणको जोखिममा पुर्याउन नहुने भन्दै स्थानीय वुद्धिजीवीले मास्क नलगाउनेलाई नियन्त्रणमा लिनु अघि निसङ्क्रमण गर्ने, मास्क उपलब्ध गराउने बताएका छन् ।
नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले सकभर यस्तो अवस्था नै आउन नदिनेतर्फ नागरिक स्वयं सचेत हुनुपर्ने भन्नुहुँदै नियन्त्रणमा लिइएकालाई अनिवार्य मास्क उपलब्ध गराउनुपर्ने बताउनुभयो । रासस
हेल्थपाटी
तपाईँको अभिमत