महाबौद्धका कपडा व्यवसायीलाई कोरोना, भीडभाडले जोखिम बढ्दै

प्रतिकारात्मक तस्बिर
काठमाडौं । काठमाडौंको अति भीड हुने स्थान महाबौद्धका कपडा व्यवसायीलाई कोरोना भाइरस रोग (कोभिड–१९) पुष्टि भएको छ । व्यवसायीकी छोरीको भारतमा विवाह भएको र केही दिन अगाडि माइत आएका बेला छोरीबाटै परिवारका अन्य ४ सदस्यलाई संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ।
युवतीका आमा बुबा महाबौद्धमा रेडिमेड कपडाको व्यवसाय गर्दै आएको खुल्न आएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागरराज भण्डारीले युवती, युवतीकी ८ वर्षकी छोरी, भाइ, करिब ६० वर्षका आमा- बुवालाई कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।
उहाँले संक्रमण पुष्टि भएका सबैलाई कोरोनाका सामान्य लक्षण देखिएको बताउनुभयो । युवती लकडाउन खुलेपछि वीरगञ्ज हुँदै काठमाडौं आएकी थिइन् । लकडाउन खुलेसँगै मानिसहरुको चहलपहल बढेकाले संक्रमणको जोखिमलाई बढाएको छ ।
अत्यावश्यक बाहेक घरबाट कहिकतै ननिस्कन विज्ञहरुले अनुरोध गरिरहेका छन् । यदि निस्कनै परेमा अनिवार्य मास्क लगाउन, भौतिक दुरी कायम राख्न, बारम्बार साबुनपानीले हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्न तथा हातले अनुहारमा नछुन विज्ञहरुले सुझाव दिएका छन् ।
हेल्थपाटी 
तपाईँको अभिमत