विश्वमा प्रत्येक वर्ष धुमपान गर्नेको नजिक बस्ने १२ लाखको मृत्यु
सूर्तिजन्य पदार्थ सेवन गर्नेलाई कोरोनाको जोखिम उच्च
काठमाडौं । सूर्तिजन्य पदार्थले फोक्सो, सासनली, मुख, मष्तिष्क, आँखा, मुटु, कलेजोमा नराम्रो असर गर्दछ । सूर्तिजन्य पदार्थले स्वास्थ्यलाई हानीमात्रै गर्ने सबैलाई थाहा हुँदाहुँदै पनि यसको प्रयोगमा कमी आउन सकेको छैन । सूर्तिजन्य पदार्थको प्रयोगबाट उत्पन्न स्वास्थ्य समस्याका कारण दिनमा ७४ जना नेपालीको मृत्यु हुने गरेकोे छ ।
सूर्तिजन्य पदार्थको प्रयोगबाट नेपालमा वर्षेनी २७ हजार भन्दा बढी मानिसको मृत्यु हुने गरेकोे सरकारी तथ्यांक छ । मुटु,फोक्सो, मधुमेह, क्यान्सर जस्ता रोगको प्रमुख कारक धुमपान रहेको अध्ययनहरूले देखाएका छन् ।
सूर्तिजन्य पदार्थ सेवन गर्नेलाई कोरोनाको जोखिम उच्च
अहिले कोरोना भाइरस रोगको महामारीमा विश्व छ । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले सूर्तिजन्य पदार्थ सेवन गर्ने र दीर्घरोगी कोरोनाको उच्च जोखिममा रहेकाले सचेत हुन सुरुदेखि नै आग्रह गर्दै आइरहेको छ । धुमपानले विभिन्न किसिमका राग उत्पन्न गराउने र रोग प्रतिरक्षा क्षमता घटाउने भएकाले कोरोना संक्रमणको जोखिम उच्च रहने भएकाले धुमपानबाट टाढा रहनुपर्ने डब्ल्यूएचओकोे सुझाव छ ।
डब्ल्यूएचओका नेपाल प्रतिनिधि डा.जोश भ्यान्डेलियरले सूर्तिजन्य पदार्थको प्रयोगकर्तामा कोभिड–१९ को जोखिम बढी हुने देखिसकेकाले यसको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने बताउनुहुन्छ । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा.निरज बमका अनुसार सूर्तिजन्य पदार्थ प्रयोग गर्नेहरुको मुख्य अंगहरु फोक्सो, मुटु, मिर्गाैला कमजोर हुने भएकाले उनीहरुलाई उनीहरुको रोग प्रतिरक्षा प्रणालिमा असर पुगिसकेको हुन्छ र यस्तो अवस्थाका मानिसलाई कोरोनाको संक्रमण भएमा झनै गाह्रो बनाउँछ र संक्रमितको मृत्युसमेत हुने जोखिम उच्च रहन्छ ।
३० प्रतिशत क्यान्सर धुमपानका कारण
वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.प्रकाशराज न्यौपानेका अनुसार विभिन्न रोगका कारण भइरहेको मृत्युमा ७० प्रतिशत हिस्सा धुमपानको रहेको छ र त्यसमा क्यान्सरको कारणमा ३० प्रतिशत धुमपान रहेको छ । धुमपानका कारण क्यान्सर भई वर्षमा कम्तिमा ७०० नेपालीको मृत्यु हुने गरेको छ ।
उहाँ भन्नुहुन्छ, धुमपान सुस्त विष हो जसले सुरुमा असर गरेको थाहै हुँदैन तर कालान्तरमा भित्रभित्रै शरीरका अंगहरुलाई खोक्रो बनाइसकेको हुन्छ र मानिसको मृत्यु गराउँछ । सूर्तीजन्य पदार्थमा लगाइँदै आएका करलाई अझै बढाउनुपर्ने उहाँको भनाई छ ।
यसरी त्याग्न सकिन्छ धुमपान
न्यौपाने सुझाव दिनुहुन्छ, सूर्तिजन्य पदार्थको लतबाट आफूलाई टाढा राख्नुपर्छ र यसलाई सजिलै त्याग्न पनि सकिन्छ । यसका लागि चुरोटको लत लागेका व्यक्तिहरुले एक दुई खिल्ली तानेपछि चुरोट फालिदिनुपर्छ । पानी बारम्बार पिइरहनुपर्छ । सुकमेलहरु मुखमा राखिरहने गर्नाले पनि चुरोटको तलतल मेटिन्छ ।
किताब पढ्ने, टिभी हेर्ने लगायतका क्रियाकलापमा आफूलाई व्यस्त राख्नुपर्दछ । अध्ययनहरूका अनुसार एक खिली चुरोट खानाले ७ मिनेट आयु घट्नेछ । अरुको तुलनामा धुमपान गर्ने पुरुषको आयु १३ र महिलाको आयु १४ वर्ष कम हुने अनुसन्धानले देखाएको छ ।
विश्वमा पहिलो पटक पुरुष अम्मलीको संख्यामा कमी
वर्षाैंदेखि सूर्तिजन्य पदार्थको प्रयोग गर्नेमा पुरुष अगाडि रहेकोमा पहिलो पटक यो संख्यामा कमी आएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले करिव ४ महिना अगाडि सार्वजनिक गरेको तथ्याङ्कमा विश्वमा पहिलो पटक सूर्तिजन्य पदार्थ प्रयोग गर्ने पुरुषको दर घटेको छ ।
सूर्तिजन्य पदार्थ प्रयोग गर्ने पुरुषको संख्या घटेको यो तथ्याङ्कले सूर्तिजन्य महामारी नियन्त्रणमा ठूलो फड्को मारेको निष्कर्ष डब्ल्यूएचओले निकालेको छ । डब्ल्यूएचओका अनुसार विगत २० वर्षमा ६ करोड मानिसले सूर्तिजन्य पदार्थ छाडेका छन् । सन् २००० मा झण्डै एक अर्व ४० करोड सूर्तिजन्य पदार्थको प्रयोगकर्ता रहेकोमा सन् २०१८ मा एक अर्व ३४ करोडमा झरेको छ ।
विश्वमा प्रत्येक वर्ष ८० लाख मानिसको मृत्यु सूर्तिजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण हुने गर्दछ । १२ लाख मानिसको मृत्यु चुरोट खानेको नजिक बस्दा उत्पन्न स्वास्थ्य समस्याका कारण हुने गरेको छ । चुरोट खानेलाई त असर गर्छ नै उसको वरीपरी रहने अन्यलाई चुरोटको धुवाँले नराम्रोसँग असर गर्ने डब्ल्यूएचओको तथ्य छ ।
नेपालमा पुरुष अमलीको संख्या बढ्दो
अन्य देशमा पुरुष अम्मलीको संख्या घटिरहेका बेला नेपालमा भने सूर्तिजन्य पदार्थको अम्मलीमा महिला भन्दा पुरुष धेरै छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को हालैको सर्वेक्षणले महिलाको तुलनामा ५ गुणा बढी पुरुष अम्मली रहेको देखाएको छ । सर्वेक्षणका अनुसार नेपालका २८ दशमलव ९ प्रतिशत मानिसले चुरोट तथा सूर्तिजन्य पदार्थको प्रयोग गरिरहेका छन् जसमा ४८ दशमलव ३ प्रतिशत पुरुष र ११ दशमलव ६ प्रतिशत महिला रहेका छन् ।
तपाईँको अभिमत