नागढुंगा र साँगा हुँदै काठमाडौं छिर्ने १० हजारको कोरोना परीक्षण हुने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायमा कोरोना भाइरस संक्रमण फैलिएको छ/ छैन पत्ता लगाउन काठमाडौं छिर्ने मुख्य दुई नाकामा स्वाब संकलन गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले त्रिभुवन लाेकपथ तथा नारायणगढ–मुग्लिन सडकखण्डबाट नागढुंगा हुँदै काठमाडौं छिर्ने र बर्दिवास–बनेपा हुँदै आउनेलाई साँगा नाकामा स्वाब संकलन गरि कोरोना परीक्षण गर्न लागेको जानकारी दिनुभयो ।
यसअघि काठमाडौंमा समुदाय स्तरमा गरिएको करिव ९ हजार परीक्षणमा ३ जनालाई कोरोना पुष्टि भएको थियो । ४५ हजार जनाको परीक्षण गर्ने यसअघिको लक्ष्य अनुसार केहीको रिपोर्ट आउन भने बाँकी छ । परीक्षणबाट काठमाडौंमा समुदायमा संक्रमण नफैलिएको पाइएपछि अब देशका विभिन्न स्थानको अवस्था बुझ्न मन्त्रालयले नाकामा परीक्षण गर्न लागेको हो । गौतमका अनुसार नाकाबाट आएका १० हजार जनाको परीक्षण गरेपछि संक्रमणको अवस्था थाहा लाग्ने र सोही अनुसार मन्त्रालय अघि बढ्नेछ ।
केहीदिन यता कोरोना संक्रमितको संख्या घट्दै गएको भएपनि बारा, सप्तरी लगायतका स्थानमा केस बढेकाले सो स्थान र काठमाडौं प्रवेश गर्ने सबैको परीक्षण गर्न थालेका छौँ, गौतमले भन्नुभयो– बाहिरबाट आएका १० हजार व्यक्तिको परीक्षण गर्नेछौँ, स्वाब संकलन भोलिबाट सुरु हुनेछ, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका टोली तयारी अवस्थामा हुनुहुन्छ ।
लकडाउन खुकुलो भएसँगै काठमाडौं बाहिरिने र भित्रिनेहरु बढेका छन् । ट्राफिक कार्यालयका अनुसार लकलडाउन खुलेपछि दैनिक ५ हजारको हाराहारीमा काठमाडौं बाहिरिने र भित्रिने गरेका छन् । महानगरीय ट्राफिक प्रवक्ता बामदेव गौतमले हिजो २ हजार ४२८ सवारी साधनबाट ५ हजार ५१५ जना काठमाडौं प्रवेश गरेको र १ हजार ९ सय २१ सवारी साधनमार्फत ४ हजार २२ जना बाहिरिएको बताउनुभयो ।
मन्त्रालयको पछिल्लाे आँकडा अनुसार देशभर १८ हजार ३७४ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म १२ हजार ९४७ जना निको भएका छन् भने ४५ संक्रमितको मृत्यु भएको छ ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत