४ महिनापछि लकडाउन अन्त्य, भदौ १ गतेबाट लामो दूरीका यातायात चल्ने
काठमाडौं । सरकारले कोरोना भाइरस रोग(कोभिड - १९)को जोखिमलाई न्यूनीकरण गर्न जारी गरेको लकडाउन अन्त्य गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले आज मध्यरातदेखि लकडाउन अन्त्य गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट खुला गर्न अनुमति दिनुका साथै भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा लगायतका गतिविधि गर्न छुट दिएको बताउनुभयो । बैठकले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर शैक्षिक कार्यक्रम अघि बढाउन दिने निर्णय गरेको हो । बैठकले नेपाल प्रवेश बिन्दु र खुला सीमाको आवागमन साउन ३२ गते आइतबार मध्यरातसम्मका लागि यथावत् राख्ने निर्णय गरेकाे पनि खतिवडाले जानकारी दिनुभयाे ।
यस्तै हिउँदे सिजनको पर्यटन व्यवसायलाई ध्यानमा राखेर पर्यटनसँग सम्बन्धित ट्रेकिङ, ट्राभल, पर्वतारोहण एजेन्सी खुल्ने, बुकिङ सुरु गर्न दिइने भएको छ ।
कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले पहिलो पटक चैत ११ गते लकडाउन जारी गरेको थियो । त्यसपछि पटक पटक लकडाउनको अवधि थप गर्दै आएको थियो । लकडाउन अन्त्य गर्ने निर्णय भएको भए पनि केही क्षेत्रको प्रतिवन्धलाई निरन्तरता दिएको छ ।
प्रवक्ता खतिवडाका अनुसार शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना खुल्ने छैनन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ भने १२ हजार ४७७ जना डिस्चार्ज भएका छन् । हालसम्म काेराेना पाेजेटिभ देखिएका ४० जनाकाे मृत्यु भएकाे छ ।
हेल्थपाटी
तपाईँको अभिमत