सन् २०५० सम्ममा १ करोड ३७ लाख बालबालिकालाई क्यान्सर हुने
काठमाडौं । सन् २०५० सम्ममा विश्वभर १ करोड ३७ लाख बालबालिकालाई क्यान्सर हुने सम्भावना रहेको एक अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय स्वास्थ्य जर्नल ‘द लान्सेट’मा प्रकाशित अध्ययन प्रतिवेदनका अनुसार सन् २०२० देखि २०५० सम्ममा ती बालबालिका क्यान्सरबाट पीडित हुने भएका हुन् ।
हाल अवलम्बन गरिएको स्वास्थ्य प्रणाली नै यथावत् रहे सो अवधिमा ६० लाख पीडितको उपचार गर्न नसकिने अध्ययनमा भनिएको छ । जुन संख्या ४४.९ प्रतिशत हो । त्यस्तै थप स्वास्थ्यमा लगानी गरी पहुँच पुर्याउन नसके १ करोड ११ लाख बराबरले क्यान्सरका कारण ज्यान गुमाउने छन् ।
अधिकांश क्यान्सर पीडित बालबालिका कम आय भएका देशमा हुने अध्ययनले देखाएको छ । ‘८४.१ प्रतिशत बालबालिका तल्लो मध्यम आय भएका देशका हुनेछन्,’ अध्ययनमा भनिएको छ, ‘नयाँ कोष र योजना बनाई यो संख्या उल्लेख्य रूपमा घटाउन सकिन्छ ।
’थप योजना तर्जुमा र बजेटको व्यवस्था गर्न सके मृत्युदर आधा घटाउन सकिने अध्ययनमा भनिएको छ । उक्त अध्ययनका अनुसार मृत्यु संख्या १ करोड ११ लाखबाट ६२ लाखमा झार्न सकिने छ । बालबालिकालाई लाग्ने करिब ८० प्रतिशत क्यान्सर अहिलेकै स्वास्थ्य प्रणालीद्वारा निदान गर्न सकिने रहेका छन् ।
तैपनि वर्षेनी १ लाख बालबालिकाले यसबाट ज्यान गुमाइरहेका छन् । मृत्यु हुनेमा अधिकांश तल्लो मध्यम आय भएका देशका बालबालिका रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत