कन्ट्याक्ट ट्रेसिङ बिना कोरोना नियन्त्रण हुँदैन : विश्व स्वास्थ्य संगठन
खोपमा अक्सफोर्ड यूनिभर्सिटीलाई मिलेको सफलताको स्वागत
काठमाडौं । विश्व स्वास्थ्य संगठन प्रमख डा. अधानोम टेड्रोसले कन्ट्याक्ट ट्रेसिङ बिना कुनैपनि देशले कोरोना भाइरस रोग (कोभिड–१९) नियन्त्रण गर्न नसक्ने बताउनुभएको छ । उहाँले समुदायमा संक्रमण दबाउने अस्त्र कन्ट्याक्ट ट्रेसिङ रहेको र यसो नगरे भाइरस कहाँ छ पत्ता नलाग्ने भएकाले महामारी नियन्त्रण नहुने बताउनुभयो ।
लकडाउनले संक्रमण घटाउन सहयोग पुग्ने भएपनि यसले पूर्ण रुपमा नियन्त्रण गर्न नसक्ने बताउँदै टेड्रोसले कुनै पनि अवस्थामा प्रत्येक देशले कन्ट्याक्ट ट्रेसिङलाई अत्यावश्यक ठान्नपर्नेमा जोड दिनुभयो । कन्ट्याक्ट ट्रेसिङले नै प्रत्येक केसलाई पत्ता लगाउने र यसबाट समुदायमा संक्रमण जान नपाउने उहाँको ठम्याई छ । टेड्रोसले इबोला, स्मलपक्स, पोलियो नियन्त्रण कन्ट्याक्ट ट्रेसिङबाट नै भएको भन्दै यसबाट पाठ सिक्नपर्ने बताउनुभयो ।
महामारी नियन्त्रणका लागि खोपको पर्खाइमा नबस्न सबै देशलाई आग्रह गर्दै उहाँले बलियो नेतृत्वका साथ रणनीति बनाई जीवन जोगाउने अभियानमा लाग्नुपर्ने बताउनुभयो । हामीले जीवन जोगाउनु नै छ, कुनै पनि गल्ति गर्नुहुँदैन भन्दै उहाँले खोपको अनुसन्धान भइरहेको र त्यतिबेलासम्म सबैले टुल्स बनाई कोरोना नियन्त्रणमा लाग्न आग्रह गर्नुभयो ।
यसैबीच डब्ल्यूएचओले बेलायतको अक्सफोर्ड यूनिभर्सिटीलाई कोभिड–१९ विरुद्धको खोपमा मिलेको सफलताको स्वागत गरेको छ । डब्ल्यूएचओका आकस्मिक विभाग प्रमुख डा. माइक रियानले कोरोनाको उपचारमा भएको प्रगतिको हामी स्वागत गर्दै अनुसन्धानमा सहभागी सबैलाई बधाई दिनुभयो ।
उहाँले भन्नुभयो यो सकारात्मक नतिजा हो तर पूर्ण सफलताका लागि अझै लामो समय कुर्नपर्ने र त्यसका लागि ठूलो संख्यामा खोपको परीक्षण हुनुपर्छ । अक्सफोर्ड यूनिभर्सिटीले विकास गरेको खोप मानिसका लागि सुरक्षित रहेको दाबी गरिएको छ ।
परीक्षणका क्रममा खोपले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतालाई विकास गरेको पाइएको अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् ।
खोपको परीक्षण १ हजार ७७ जनालाई गरिएको थियो । उनीहरुलाई परीक्षण गर्दा उनीहरुको शरीरमा कोरोना भाइरससँग लड्न सेतो रक्त कोष र एन्टीबडीको विकास भएको प्रमाण अनुसन्धानकर्ताहरुले पत्ता लगाएको बताएका छन् । यूनिभर्सिटीका निर्देशक डा.एड्रीन हिलले खोपको परीक्षण गर्दा अधिकांशको शरीरमा रोग प्रतिरक्षा प्रणालिको विकास भएको बताउनुभयो ।
हेल्थपाटी 
तपाईँको अभिमत