नेपालमा एक हजार गाईलाई नयाँ भाइरस संक्रमण

काठमाडौं । नेपालमा गाईलाई भाइरसको नयाँ संक्रमण देखिएको छ । गाईको शरीरमा घाउ, बिबिरासहित ज्वरो आई बेहोस हुने लक्षण गाईमा देखिएको छ । पशु अनुसन्धान प्रयोगशाला विराटनगर प्रमुख डा.संजय यादवले मोरङमा मात्रै विगत एक महिनामा यस्तो लक्षणदेखि ४ सय गाई बिरामी भएका छन् ।
उहाँले अघिल्लो दिन शरीरमा देखिएको डाबर भोलिपल्ट पुरा शरीरभरी फैलने र १०४–१०५ डिग्रीसम्म ज्वरो आउने लक्षण गाई गोरुमा देखिएको जानकारी दिनुभयो । गाई,गोरुमा यस्तो समस्या देखिन थालेको एक महिनाजति भयो तर विगत २ सातादेखि धेरै गाईमा संक्रमण फैलिएको पाइएको छ उहाँले भन्नुभयो ।
यादवका अनुसार झापा, मोरङ, सुनसरी सप्तरी लगायतका जिल्लामा गरि करिव १ हजार भन्दा बढी गाई यो रोगको संक्रमणबाट बिरामी भएका छन् भने १०–१२ वटा गाई मरिसकेका छन् । यादवले विशेषगरि यस्तो रोग गाई, गोरु र भैसीलाई लाग्ने गरेको पाइए पनि नेपालमा अधिकांश गाई यो रोगको शिकार भएको बताउनुभयो ।
चीन, बंगलादेश र भारतमा पनि गत जनवरीदेखि गाई भैसीमा यस्तै समस्या देखिरहेको छ त्यहाँ यो रोगलाई लुम्पी स्कीन डिजिज भनिएको छ । नेपालमा यसको अनुसन्धान हुन बाँकी रहेको यादवले बताउनुभयो । उहाँका अनुसार यो रोगको निदान गर्न नेपालमा किट नभएकाले विदेशबाट किट मगाइएको छ र किट आउने बित्तिकै रगतको परीक्षण गरिनेछ ।
यो रोगको मृत्युदर १ देखि ४ प्रतिशत रहे पनि यसले उत्पादनमा ह्रास ल्याउनेछ । यो रोग लागेपछि गर्भ तुहिने, दुध कम आउने, बाँझोपनाको समस्या देखिने सम्भावना उच्च रहेको चिकित्सकहरु बताउँछन् ।
केन्द्रिय पशु अस्पताल त्रिपुरेश्वर काठमाडौंका पशु चिकित्सक डा.अर्जुन अर्यालले केही सातादेखि देशका विभिन्न स्थानमा लुम्पी स्कीन डिजिजसँग मिल्दोजुल्दो लक्षण भएको रोगको संक्रमण गाईमा देखिन थालेको बताउनुभयो । यो संक्रमण संक्रमित गाईबाट अर्काे गाई/गोरुमा तिव्र गतिमा फैलन भएकाले बिरामी गाईलाई छुट्टै राखी चिकित्सकको सल्लाह अनुसार अघि बढ्न किसानहरुलाई आग्रह गर्नुभयो ।
तपाईँको अभिमत