दम र श्वास-प्रश्वास रोगीलाई मनसुन पनि खतरा
काठमाडौं । गर्मी भइरहेको बेला मनसुनसँगै चिसो हावा अक्सर धेरैको लागि प्रिय तथा आनन्दित हुन्छ तर सबैका लागि होइन । दम र श्वास-प्रश्वास सम्बन्धी समस्या भएकाहरुलाई भने वर्षाको मौसममा तापक्रम घट्ने र वातावरण ओसिलो हुने भएकाले थप स्वास्थ्य समस्या देखिन सक्छ । सावधानी अपनाएमा दम तथा श्वास-प्रश्वासको समस्या भएकाहरुले पनि वर्षाको आनन्द महसुस गर्न सक्दछन् ।
झरी परिरहने भएकाले घरका भित्ताहरुमा ओस आउन सक्छ जसले अदृश्य रुपमा स्वास्थ्यमा असर गरिरहेको हुन्छ । विशेषगरि छातीरोगको समस्या भएका, श्वास-प्रश्वास र दमका बिरामीहरुलाई धेरै समस्या देखिनुमा झरी पर्दै घामलाग्दा हावामा धुँलो उड्छ जसले एलर्जी गराउँछ । यस्तै वर्षायाममा हावामा परागकणको उपस्थिति बढ्दछ जसले दमका बिरामीलाई थप समस्या निम्तिन्छ । अध्ययनहरुका अनुसार दमका बिरामीहरुले आफू सुत्ने कोठामा बोटबिरुवा राखे हावाका परागकणलाई आद्रता मार्फत हटाउँछ ।
वर्षायाममा हावामा भएका प्रदूषित कणहरु माथि–माथि उड्नाले अन्य बेलामा भन्दा यो समयमा श्वास-प्रश्वासमा बिरामीलाई गाह्रो हुने चिकित्सकहरु बताउँछन् । शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ छातीरोग विशेषज्ञ डा.निरज बमका अनुसार कोरोना भाइरस संक्रमण नहुँदो हो भने यतिबेला अस्पतालमा पखाला, श्वास-प्रश्वास, घाँटीको एलर्जी र दमका बिरामीहरुको चाप अत्याधिक हुने गर्दथ्यो ।
उहाँले वर्षाका कारण बाढीभेल आउनसक्छ जसले विभिन्न स्थानमा माटो बालुवा थुपार्छ र अलि सुख्खा हुनेबित्तिकै वातावरणमा धुलो उड्ने र त्यो सास फेर्दा फोक्सोमा जाने भएकाले जो कोहीलाई श्वास-प्रश्वासको समस्या देखिने बताउनुभयो । उहाँले दमका बिरामीहरुलाई कोभिडको जोखिम उत्तिकै रहेकाले अत्यावश्यक नपरी बाहिर ननिस्कन सुझाव दिँदै धेरै गाह्रो भएमा मात्रै स्वास्थ्य संस्था जान सुझाव दिनुभयो । केही दिन यता बाहिर भीडभाड देखिन थालेको छ, त्यस्तो भीडमा छातीको, दम तथा श्वास-प्रश्वासको समस्या भएकाहरु बाहिर निस्कनै हुन्न ।
कोरोनाका अलावा यो समयमा अरु थुप्रै भाइरसहरु सक्रिय हुन्छन् जसले तुरुन्तै रुघाखोकी लाग्नुका साथै एलर्जी हुनसक्छ र यसले थप समस्या ल्याउन सक्छ बमले सचेत गराउँदै नियमित औषधि खाई घरमा नै खानपानमा ध्यान दिई बस्न आग्रह गर्नुभयो । असारदेखि असोजसम्म नेपालमा पनि देशभरका अस्पतालहरुमा झाडापखाला, ज्वरो, टाइफाइड, रुघाखोकी, जण्डिसका बिरामीका चाप धेरै हुन्थ्यो तर यसपटक कोरोना भाइरस रोगका कारण अस्पतालहरुमा अत्यावश्यक सेवा मात्रै सञ्चालनमा छन् । त्यसैले यसपटक अस्पतालहरुमा यस्ता बिरामी आएका छैनन् ।
तपाईँको अभिमत