कोरोना ६ प्रकारको हुने, नेपालकाे भाइरस कुन ?
काठमाडौं । कोरोना भाइरसका प्रकारहरु पत्ता लागेको वैज्ञानिकहरुले दाबी गरेका छन् । लण्डनको किंग्स् कलेजका वैज्ञानिकहरुले ६ प्रकारका कोरोना भाइरस हुने र ती भाइरस लक्षणका आधारमा चिनिन सक्ने पत्ता लागेको जानकारी दिएका छन् ।
उनीहरुले भनेका छन् कोरोना भाइरसका सम्बन्धमा यो ब्रेक थ्रु हो र यसबाट डाक्टरहरुलाई कोरोनाका बिरामीको उपचारमा सहज हुने र कुन बिरामी खतरामा छन् र कुन छैनन् भन्ने छुट्याउन सजिलो हुनुका साथै अन्य व्यक्तिमा संक्रमण रोक्न सहयोग पुग्नेछ । वैज्ञानिकहरुले प्राप्त गरेको यो सफलतालाई कोरोना संक्रमितको जीवन बचाउने र संक्रमण नियन्त्रण गर्न ब्रेक थ्रु रहेको बताएका छन् ।
लगातार खोकी लाग्नु, ज्वरो आउनु र सुँघ्ने क्षमतामा ह्रास आउनुलाई सबैमा देखिने कोरोना संक्रमणको मुख्य लक्षणमा राखिएको छ । टाउको दुख्नु, शरीर दुख्नु, छाला चिराचिरा पर्नु, पखाला लाग्नु, खान मन नलाग्नु, सास फेर्न गाह्रो हुनु कोरोनाको लक्षण हो । बेलायत र अमेरिकामा १ हजार ६ सय संक्रमितमा गरिएको अनुसन्धानले लक्षणका आधारमा कोरोना भाइरसको बर्गीकरण गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् ।
एक अनुसन्धानकर्ता डा.क्लैरे स्टेभ्सले आफूहरुले पत्ता लगाएको तथ्यले संक्रमितको निगरानी र हेरचाहमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । लक्षणका आधारमा बिरामीलाई बर्गीकरण गरि उपचार गर्न र संक्रमणलाई रोक्न सकिने उहाँको भनाई छ ।
१. फ्लूको जस्तो लक्षण देखिन्छ जहाँ ज्वरो आउँदैन । विशेषगरि यस पहिलो प्रकारको भाइरसले टाउको दुख्ने, सुँघ्ने क्षमतामा कमी आउने, खोकी लाग्ने, घाँटी दुख्ने, छाती दुख्ने गराउँछ तर ज्वरो आउँदैन ।
२. दोस्रो प्रकारको भाइरसले पनि फ्लूको जस्तो लक्षण देखाउँछ तर बिरामीमा ज्वरो आउँछ । टाउको दुख्ने, सुँघ्ने क्षमतामा कमी आउने, खोकी लाग्ने, घाँटी दुख्ने, खान मन नलाग्ने हुन्छ सँगै ज्वरो पनि आउँछ ।
३. तेस्रो प्रकारको भाइरसले भने पेट,आन्द्रा, कलेजो लगायतका अंगहरुमा असर पुर्याउन थाल्छ । विशेषगरि यो भाइरसले टाउको दुख्ने, सुँघ्ने क्षमता नास हुने, भोक नलाग्ने, पखाला लाग्ने, घाँटी दुख्ने, शरीर दुख्ने हुन्छ । तेस्रो प्रकारको भाइरसले खोकी गराउँदैन ।
४.चौथो प्रकारको भाइरसले मानिसलाई अधिक थकानकोे महसुस गराउँछ र गम्भीर बनाउँदै लैजान्छ । यसलाई पहिलो चरणको गम्भीर बिरामी मानिन्छ । बिरामीलाई टाउको दुख्ने, सुँघ्ने क्षमता नास गराउने, ज्वरो आउने, खोकी लाग्ने,शरीर दुख्ने, छाती दुख्ने हुन्छ ।
५. पाँचौँ प्रकारको भाइरसले झनै गम्भीर बनाउँछ, ब्रेनमा असर गर्छ र बिरामीमा द्विविधा पैदा गराउँछ । यो कोरोना भाइरसका कारण हुने दोस्रो चरणको गम्भीर बिरामी हो । टाउको दुख्ने, सुँघ्ने क्षमता नास गराउने, ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने, शरीर दुख्ने, छाती दुख्ने र भ्रमीत हुने हुन्छ ।
६. छैठौ प्रकारको भाइरसले बिरामीलाई अक्सिजननै दिनु पर्ने अवस्थामा पुर्याउँछ । यो भाइरसले बिरामीलाई सास फेर्न अप्ठेरो बनाउँछ । टाउको दुख्ने, सुँघ्ने क्षमता नास गराउने, ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने, शरीर दुख्ने, छाती दुख्ने, भ्रमीत हुने हुन्छ । यस्तो किसिमको बिरामी तेस्रो चरणको गम्भीर बिरामी हो ।
विश्वभर ६ लाख १ हजार २१३ जनाको मृत्यु भइसकेको छ
वैज्ञानिकहरुका अनुसार १ हजार ६ सय संक्रमितमा गरिएको अनुसन्धानले पहिलो प्रकारको भाइरसबाट १.५ प्रतिशत, दोस्रो प्रकारको भाइरसबाट ४.४ प्रतिशत, तेस्रो प्रकारको भाइरसबाट ३.३ प्रतिशत विरामी भएको र तेस्रो प्रकारको भाइरसको संक्रमणबाट बिरामी भएकालाई अक्सिजन दिनु परेको पत्ता लागेको छ ।
त्यसैगरी चौथो, पाँचौं र छैठौं प्रकारको कोरोना भाइरस संक्रमण भएका क्रमशः ८.६ प्रतिशत, ९.९ प्रतिशत र १९.८ प्रतिशत विरामीमा अक्सिजन दिनुपर्ने अवस्था देखियो ।
कोरोना भाइरसका बारेमा अध्ययन अनुसन्धानको क्रम चलिरहेको छ यद्यपि संक्रमणलाई रोक्न दीर्घकालिन उपाय अझै भेटाउन सकिएको छैन । कोरोना भाइरसको उत्पत्ति, लक्षण, संक्रमणको कारण, गति र रोकथामका उपाय जस्ता थुप्रै विषय अनुसन्धानकै घेरामा छ ।
नेपालमा ८० प्रतिशतभन्दा बढी संक्रमितलाई कोरानाका कुनै पनि लक्षण नदेखिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बताउँदै आएको छ । हालसम्म देखिएका संक्रमितमध्ये अत्यन्तै न्यूनलाई मात्रै अक्सिजन दिनुपरेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा कोरोना भाइरसको स्ट्रेन पत्ता लगाउन अनुसन्धान प्रक्रिया सुरु गरेको छ ।
गत डिसेम्बरबाट फैलिएको संक्रमणका कारण विश्वभर ६ लाख १ हजार २१३ जनाको मृत्यु भइसकेको छ भने १ करोड ४२ लाख मानिसमा कोरोना पुष्टि भएको छ ।
दि सनबाट
हेल्थपाटी
तपाईँको अभिमत