भारतमा कोरोना संक्रमित बालबालिकामा देखियो अर्काे दुर्लभ रोगको लक्षण
कोरोना विरुद्धको खोपको मानव परीक्षण सुरु
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीका धेरै अस्पतालहरुमा कोरोना संक्रमित बालबालिकामा अर्काे एक दुर्लभ रोगको लक्षण देखिएको छ । यसअघि मुम्बईमा पनि यस्तै किसिमको केस बाहिर आएको थियो । कावासकी नामक यस रोगमा बालबालिकाको शरीर सुन्निने तथा छालामा डाबर आउने गर्दछ ।
विशेषगरि यो समस्या ५ वर्षभन्दा कम उमेरका संक्रमित बालबालिकामा देखिएको छ । इंडियन एक्सप्रेसका अनुसार दिल्लीको कलावती सारन अस्पतालमा भर्ना गरिएका ६ जना बालबालिकामा ज्वरोको साथै स्किन र्यासेस, पेटको समस्या, सास लिन गाह्रो हुने लक्षण थियो र उनीहरुको परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो ।
भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ८८४ जनामा कोरोना पुष्टि हुनुका साथै ६७१ जनाको मृत्यु भएको छ । कोरोना प्रभवित देशमा तेस्रोमा रहेको भारतमा हालसम्म १० लाख ३८ हजार ७१६ जनालाई कोरोना पोजेटिभ देखिएको छ भने २६ हजार २७३ संक्रमितको मृत्यु भइसकेको छ ।
यसैबीच भारतमा पनि कोरोना विरुद्धको खोपको मानव परीक्षण सुरु भएको छ । पहिलो चरणमा भारत बायोटेक र जीडस कडीलाले जुलाई १५देखि खोपको परीक्षण मानिसमा गरिरहेको छ । देशका विभिन्न १२ स्थानमा ३७५ जनामा खोपको परीक्षण हुने दुबै कम्पनीले जनाएका छन् । बीबीसी ।
हेल्थपाटी
तपाईँको अभिमत