कोरोना परीक्षण बढाउन माग : जनताका लागि कि व्यापारीका लागि ?
काठमाडौं । नेपालमा पछिल्ला दिनमा नयाँ थपिने कोरोना संक्रमितको संख्या न्यून हुँदै गएको छ। साँच्चै कोरोना घटेको भन्दा पनि सरकारले आफ्नो कमजोरी लुकाउन परीक्षण नै कम गरेको आरोप लागिरहेको छ ।
'सरकारले पीसीआर परीक्षणको दर ह्वात्तै घटायो । यस कारण नेपालमा कोरोना संक्रमणको जोखिम झन–झन बढ्दै गएको छ । समुदायमै फैलिइसकेको छ, नेपालीहरुको जीवन खतरामा परेको छ' यस्ता अभिव्यक्तिहरु आइरहेका छन् । धेरैले पीसीआर परीक्षणको दर घटाएको भन्दै सरकारको आलोचना गरिरहेकै छन् । आमरुपमा मनमा रहेको कोरोना महामारीको त्रास र सरकारका कमी कमजोरीका कारण यस्तो अभिव्यक्ति आइरहेका देखिन्छन्।
केही चिकित्सकहरु भने आफ्ना व्यवसायिक स्वार्थमा लागेर कोरोना महामारीको त्रास फैलाउने र सरकारलाई दबाव दिएर धेरै पीसीआर परीक्षण गराउने ध्याउन्नमा लागेको आरोप लागेको छ । केही निजी अस्पतालमा सलग्नन चिकित्सक, प्रयोगशाला सञ्चालकहरूले निरन्तर पीसीआर परीक्षणको दायरा बढाउनु पर्ने रटान लगाइरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउनुहुन्छ।
आवश्यकताले भन्दा पनि कतिपयले आफ्ना निजी संस्थाका व्यापारलाई केन्द्रमा राखेर अभिव्यक्ति दिइरहेको मन्त्रालयका एक उच्च अधिकारीले आरोप लगाउनुभयाे । पछिल्ला दिनमा स्वास्थ्य मन्त्रालयको कामप्रति असन्तुष्टि जनाउँदै अभिव्यक्ति दिइरहनुभएका वरिष्ठ मुटु रोग विशेषज्ञ डा.भगवान कोइरालामाथि पनि यस्तै आरोप लागेको छ।
मन्त्रालयले आफ्नो कमजोरी लुकाउन र कोरोना परीक्षण नभएको देखाउन पीसीआर परीक्षण कम गरेको भन्दै आरोप विभिन्न संचारमाध्याम मार्फत सार्वजनिक भएपछि विवादित भएकाे थियो । मन्त्रालयको कोभिड व्यवस्थापनका विभिन्न समितिमा रहनुभएका डा.कोइराला मन्त्रालयको काम चित्त नबुझेकाले बैठकहरुमा पनि जान छाडेको उहाँ आफैँले बताउँनुभएकाे थियो। नेपाल मेडिकल काउन्सिलका अध्यक्षसमेत रहनुभएका वरिष्ठ मुटु रोग विशेषज्ञ डा.कोइरालालाई ह्याम्स अस्पतालले पनि मुख्य डाक्टरको रुपमा प्रचार गर्दै आइएको छ।
मन्त्रालयका एक उच्च अधिकारीले आफू कार्यरत ह्याम्स अस्पतालका अध्यक्ष ओम सर्जिकलको व्यपार बढाउने उद्देश्यले परीक्षणको दायरा बढाउन डा.अनुप सुबेदी लगायतका एक समुहनै परिचालित भएकाे र पीसीआर परीक्षण बढाउन अनावश्यक दबाव सृजना गरेको आरोप लगाउनुभयाे।
उहाँका अनुसार स्वास्थ्य मन्त्रालयलाई पीसीआर कीटको आपूर्ति गर्ने रिएजेन्ट ह्याम्सअस्पतालकै अध्यक्ष आरएस भण्डारीको कम्पनी ओम सर्जिकलले पाएको छ । स्वास्थ्य मन्त्रालयलाई १ लाख २५ हजार पीसीआर कीट उपलब्ध गराउने सम्झौता भएको छ। सोही दरमा आवश्यक परेजति थप कीट ओम सर्जिकलले आपूर्ति गर्ने कुरा सम्झौतामा उल्लेख छ। नेपालमा पीसीआर परीक्षणको दर बढाउन पाएमा ओम सर्जिकलले धेरै कीट मन्त्रालयलाई आपूर्ति गरिरहन पाउँछ।
भण्डारीको यही व्यवसायलाई फाइदा पुर्याउने स्वार्थले हेम्मसका डा.अनुप सुवेदीलगायतले पीसीआर परीक्षणको दायरा बढाउनु पर्ने रटान लगाइरहेको आरोप मन्त्रालयका उच्च अधिकारीकाे छ। अन्य केही निजी अस्पतालका चिकित्सक, केही प्रयोगशाला सञ्चालन गरिरहेका चिकित्सकहरूले पनि परीक्षणको दायरा बढाउनु पर्ने र घुमाउरो भाषामा आफ्ना प्रयोगशालाले परीक्षण गर्ने मौका पाउनुपर्ने भन्ने खालका अभिव्यक्ति कोरोना संक्रमण सुरु भएदेखि नै दिँदै आएको मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।
अहिले प्रतिदिन स्थलमार्गबाट करिब २ हजार र हवाईमार्गबाट करिब १ हजार गरी ३ हजारको हाराहारीमा नेपाली आइरहेको र समुदायमा कोरोना फैलिइ नसकेकाले अहिले गरेको परीक्षणलाई कम भन्ने कुनै आधार नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गाैतम बताउनुहुन्छ । ‘विदेशबाट भित्रिने संख्या दैनिक ३ हजार हाराहारी छन् । दैनिक ४५ सय देखि ५ हजार सम्म परीक्षण भइरहेको छ ।
आवश्यक नै नदेखिएकाको परीक्षण गरी राज्यलाई आर्थिक भार किन बढाउनु ? प्रवक्ता प्रा.डा गाैतमले प्रतिप्रश्न गर्नुभयाे ।आवश्यक परे मन्त्रालय परीक्षण बढाउन सक्षम रहेको र शंकास्पद केही ठाउँमा समुदायस्तरमै परीक्षण पनि गरिरहेको उहाँकाे दावी छ ।
डा. भगवान कोइरालाकाे भनाई
आफूमाथि लागेको आरोपलाई डा.कोइराला अस्वीकार गर्नुहुन्छ । आफू आठ महिनादेखि ह्याम्स अस्पतालकाे व्यवस्थापनमा संलग्न नरहेको र ओम सर्जिकलले पीसीआर कीट आपूर्तिको जिम्मा पाएकोबारे पनि जानकारी नभएको उहाँको स्पस्टोक्ति छ ।

‘मैले कसैको फाइदाका लागि बोलेको हैन आफ्नो स्वतन्त्र भनाइ राखेको हो’ डा. कोइराला भन्नुहुन्छ। स्वास्थ्य मन्त्रालय नै अहिले पीसीआर परीक्षण गर्न सक्षम छ, कुनै निजी प्रयोगशाले परीक्षण गर्न पाओस् र फाइदा पुगोस भन्ने आफ्नो मनासाय नरहेको उहाँ बताउनुहुन्छ ।
'अहिले केस घटेको छ यो एकदमै राम्रो कुरा हो तर यसैगरी मानिसहरु निस्कने र भीडभाड गर्ने हो भने निश्चित रुपमा केस बढ्छ हामीले त्यसतर्फ सजग हुँदै आवश्यक कदम चाल्न जरुरी छ' डा.कोइरालाले भन्नुभयो- 'नागरिकले पनि रोग नियन्त्रणमा साथ दिन उत्तिकै जरुरी छ यसो गरेमा हामी कोरोनालाई नियन्त्रणमा राख्न सक्छौँ।'
जगन्नाथ ढकाल
तपाईँको अभिमत