मानव अंग प्रत्यारोपण केन्द्रले १६ नर्सलाई हटायो
स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै
काठमाडौं । शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले करार सेवामा कार्यरत १६ जना नर्सलाई जागिरबाट हटाएको छ । नर्सहरुले आफूलाई कोरोना महामारीको संकटको समयमा निकालेको भन्दै आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई अंग प्रत्यारोपण केन्द्रमै काम गर्ने व्यवस्था मिलाउनको लागि ज्ञापनपत्र बुझाउँदै छन् ।
एक पीडित नर्सले हेल्थपाटीसँग भन्नुभयो, “कोरोना महामारीको बीचमा आफूहरूलाई सेवाबाट निकाल्नु मानवता विरूद्धको अपराध हो ।” अस्पताल प्रसाशनलाई तुरून्त हाम्रो करार अवधि नवीकरण गरी सेवामा फर्काउने वातावरण बनाउन अनुरोध गर्दछौं, यसैका लागि आज स्वास्थ्य मन्त्रीज्यूलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।
मन्त्रीज्यूले हाम्रो समस्या संवाेधन गर्नुहन्छ भन्ने आशा छ, अन्यथा हामी कडा कदम उठाउन बाध्य हुने छौं।” उहाँले थप्नुभयो । करार कुल ३४ जना नर्स रहेकोकामा १६ जनालाई हटाइएको उहाँले जानकारी दिनुभयो ।
अस्पतालका निर्देशक डा.प्रेम ज्ञवालीले उहाँहरुलाई निकालेको नभई अन्य अस्पतालहरुमा सेवा गराउने गरि उचित व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने बताउनुभयो ।
पहिला करारमा कार्यरत नर्सहरुको स्थानमा स्थायी दरबन्दीका नर्सहरु आएकाले करारका नर्सको अवधि नवीकरण गर्न नसकेको उहाँले जानकारी दिनुभयो ।
मन्त्रालयले गत आर्थिक वर्षमा करारमा राखिएका डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरुको करारअवधि यस आर्थिक वर्षको पुस मसान्तसम्म थप गर्न सरकारी अस्पतालहरुलाई निर्देशन दिइसकेको छ ।
तपाईँको अभिमत