काठमाडौं उपत्यकामा ३४७ जना कोरोना संक्रमित
विदेशबाट ल्याइएका सबैको परीक्षण गरिने

फाइल फोटो
काठमाडौं । पछिल्लो साता देशभर कोरोना भाइरस रोग (कोभिड - १९) का बिरामी घटिरहेका छन् । काठमाडौं,ललितपुर र भक्तपुरमा भने संक्रमण बढिरहेको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिउँसो सार्वजनिक गरेको कोरोना संक्रमितको तथ्यांक अनुसार काठमाडौंमा ५ र ललितपुरमा १ जनालाई कोरोना पुष्टि भएको छ ।
यो सँगै काठमाडौं उपत्यकामा संक्रमितको सख्या ३४७ पुगेको छ । उपत्यकामा संक्रमितको संख्या बढ्दै गएपछि ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले गत शनिबार उपत्यकाका विभिन्न १२ स्थानमा करिब ३ हजार जनाको पीसीआर परीक्षण गरेकोमा ३ जनालाई कोरोना पुष्टि भएको छ । महाशाखाका निर्देशक डा. बासुदेब पाण्डेका अनुसार ३ हजारमध्ये १ हजार ६२१ जनाका नतिजा आएको र त्यसमा ३ जनाको मात्रै कोरोना पोजेटिभ आएको छ जुन व्यक्तिहरुको ट्राभल हिस्ट्री छैन ।
काठमाडौंमा गंगालाल राष्ट्रिय हृदय केन्द्र,शंखमुल,डिल्लीबजार, कागेश्वरी मनोहरा, कोटेश्वर, त्रिभुवन विमानस्थल, ललितपुरको नख्खु, भक्तपुरको बोडे लगायतका स्थानका बासिन्दाको पीसीआर परीक्षण गरिएको थियो । पाण्डेले काठमाडौंमा समुदायमा छिटपुट संक्रमित रहेको हुनसक्ने भन्दै परीक्षणको दायरा बढाइ बैक, मालपोत लगायतका भीड हुने स्थानका ५ हजार जनाको पीसीआर परीक्षण हुने बताउनुभयो ।
असार २५ गतेबाट धेरै केस देखिएका स्थानहरुमा पीसीआर परीक्षण सुरु भइसकेको भन्दै देशभर ४५ हजार जनाको कोरोना परीक्षण गर्ने बताउनुभयो । पछिल्लो समय संक्रमितको संख्या घटिरहेको सन्दर्भमा उहाँले क्वारेन्टिनमा रहेका व्यक्तिहरुको परीक्षण भएको र विदेशबाट उद्दार गरि ल्याइएका सबैको पीसीआर परीक्षण गरिने बताउनुभयो । पछिल्लो २४ घण्टामा ८२ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । ३८ जना संक्रमितको मृत्यु भएको छ भने ८ हजार ५८९ जना डिस्चार्ज भएका छन् ।
हेल्थपाटी 
तपाईँको अभिमत