जनसङ्ख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको छ : स्वास्थ्य मन्त्री ढकाल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले जनसङ्ख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएकाे छ । विश्व जनसङ्ख्या दिवसका अवसरमा शुभकामना दिदै उहाँले वि.स. २०६८ को जनगणनाको नतिजाले नेपालको वार्षिक जनसङ्ख्या वृद्धिदर २ प्रतिशतभन्दा तल झरेको देखिए पछि जनसङ्ख्याको नियन्त्रण भन्दा पनि जनसङ्ख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयाे ।
विश्व जनसङ्ख्या दिवस २०२० जुलाई ११ को उपलक्ष्यमा माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री ढकालले दिनु भएको शुभकामना जस्ताकाे तस्तै :
विश्वभर प्रत्येक वर्ष झैँ आज जुलाई ११ को दिनलाई विश्व जनसङ्ख्या दिवसको रुपमा मनाउने महत्वपूर्ण क्षणमा हामी आइपुगेका छौं । विश्वको जनसङ्ख्या ५ अर्ब पुगेको स्मरण गर्दे सन् १९८९ मा नेपालसहित १७९ सदस्य राष्ट्रहरुले जनसङ्ख्यामा देखिएको उतारचढावलाई हस्तक्षेपकारी भूमिकाका साथ सन्तुलनमा ल्याउन आवश्यक छ भन्ने महशुस गरि शुरु भएको यो अभियानले आज २५ औं वर्ष पार गरेको छ । म यस अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जनसङ्ख्या र विकाससँग जोडिएका महत्वपूर्ण वहुआयामिक क्षेत्रहरुको नीति निर्माण र कार्यक्रम सञ्चालन गर्ने सरकारको प्राथमिकता रहेसँगै यो दिवश मनाउने उत्साह पनि कायम छ । कोभिड–१९को संक्रमणका कारण हामी यस वर्षको जनसङ्ख्या दिवसलाई फरक शैलीकासाथ मनाइरहेका छौंं । सन् १९९४ मा जनसङ्ख्या र विकास सम्बन्धी आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलन (आइसीपीडी)का आधारमा समग्र विकासका आयामहरु पहिल्याउने कामको शुरुवात भएको थियो ।
नेपालले यो सम्मेलनमा व्यक्त गरेको प्रतिवद्धता स्वरुप नै आज हाम्रो देशमा जनसङ्ख्याको क्षेत्रमा निकै राम्रा काम भएका छन् । जनसङ्ख्या वृद्धिमा सन्तुलन, प्रजनन स्वास्थ्यमा सुधार, प्रजनन अधिकारको पृष्ठपोषण, बालविवाहमा कमी, सुरक्षित मातृत्व लगायतका क्षेत्रमा हामीले ठूलो प्रगति गरिसकेका छौं । तथापि यो क्षेत्रमा अझै धेरै कार्यहरु गर्न बाँकी नै छ । जनसङ्ख्या विकासको मूल आधार मात्र होइन, यो देशको अस्तित्व स्थापना गर्ने एक मूल मापक नै हो ।
वि.स. २०६८ को जनगणनाको नतिजाले नेपालको वार्षिक जनसङ्ख्या वृद्धिदर २ प्रतिशतभन्दा तल झरेको देखिए पछि जनसङ्ख्याको नियन्त्रण भन्दा पनि जनसङ्ख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको छ । सरकारले तय गरेको पन्ध्रौँ पञ्चवर्षीय योजनामा प्रतिवद्धता जनाई लागू गरेको दीगो विकास लक्ष्य लगायतका हरेक कार्यक्रममा जनसङ्ख्या व्यवस्थापन प्राथमिकतामा परेको छ ।
सन्तुलित जनसङ्ख्याको वितरण र प्रभावकारी जनसङ्ख्या व्यवस्थापनको मार्गमा जनसङ्ख्याका खासखास सूचकहरुमा सुधार गर्नु पर्ने अवस्था छ । सेवा सुविधाकै अभावका कारण नागरिकले जन्मथलो छाडेर अन्यत्र बसाँइसराई गर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि सबै ठाँउमा आवश्यक पूर्वाधारहरुको निर्माण गरी व्यवस्थित बसोबासको व्यवस्था मिलाई अब्यवस्थित शहरीकरण रोक्ने तर्फ सरकारले ध्यान दिइरहेको छ ।
यस बर्षको जनसङ्ख्या दिवसको नारा कोभिड -१९ संक्रमणको पूर्ण अन्त्य गरौं, महिला र किशोरीहरुको स्वास्थ्य र अधिकार सुरक्षित गरौं” भन्ने रहेको छ । कोभिड–१९ बाट आज विश्वमा १ करोड भन्दा बढी मानिसहरु संक्रमित छन् भने महिला, बालबालिका लगायतका समाजका विविध पक्षमा यसले ठूलो असर पारेको छ । यो बेला महिला, बालबालिका, ज्येष्ठ नागरिकहरु लगायतका अधिकारलाई सम्मान गर्दै उनीहरुलाई सुरक्षित राख्ने सम्बन्धमा हामी सजग छौँ । नेपालको जनसङ्ख्याको आधा हिस्सा भन्दा बढीको संख्यामा रहेका महिला दिदीबहीनीहरुको स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता, रोजगारी जस्ता विषयहरुमा राज्यले विशेष रुपमा ध्यान दिन सकेमा मुलुकको विकासमा यसले ठूलो योगदान पु¥याउनेछ ।
अन्त्यमा, कोभिड–१९ संक्रमणको विषम परिस्थितिमा देशमा रहेका महिला, बालबालिका, गरिव, असहाय, सीमान्तकृत वर्ग, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक लगायत सबै नागरिकका अधिकारहरुलाई सम्मान गर्दै देश विकासको गोरेटो निर्माण गर्न उहाँहरुलाई आ–आफ्नो क्षेत्रबाट सहयोगको अवसर प्रदान गर्न सकिएमा वर्तमान सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यले मूर्त रुप लिने कुरामा म विश्वस्त छु ।
हेल्थपाटी
तपाईँको अभिमत