स्वास्थ्य सामग्री खरिदमा अनियमितताको खुलासा गर्ने स्वास्थ्यकर्मी निलम्बित
काठमाडौं । अनावश्यक स्वास्थ्य सामग्री खरिद गरी अनियमितता गरेको खुलासा गर्ने दुई स्वास्थ्यकर्मी निलम्बनमा पर्नुभएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा कार्यरत प्रयोगशालाकर्मी विनित कुमार शर्मा, सुनिलकुमार पौडेल निलम्बनमा पर्नुभएको हो। प्रतिष्ठानका कामु रजिस्टार कैलाश प्रसाद देवले शर्मा र पौडेललाई निलम्बन गरिएको पत्र दिनुभएको छ ।
प्रतिष्ठानको प्रयोगशालामा पीसीआर परीक्षणमा खटिनुभएका शर्मा र पौडेलले प्रयोगशालाको स्रोत साधन आफूखुसी प्रयोग गरेको आरोप निलम्बन पत्रमा लगाइएको छ । शनिबार भएको अन्तराष्ट्रिय मञ्चको जुम मिटिङमा सहभागी भई विभागीय प्रमुख डा. गोपाल लामालाई अनावश्यक लाञ्छना लगाएको आरोप उहाँहरुमाथि लगाइएको छ।
प्रतिष्ठानले प्रतिष्ठानका शर्मा र पौडेलमाथि छानबिन गर्न डीन डा.वसन्त लामिछानेको संयोकत्वमा अस्पताल निर्देशक डा.सागर पन्थी र शाखा अधिकृत रोशन आचार्य सम्मिलित तीन सदस्य छानबिन समिति गठन गरेको र उक्त समितिको प्रतिवेदन प्राप्त भए पश्चात दोषी ठहर्याई निलम्बन गरिएको जानकारी पत्रमा गराइएको छ।
जुम मिटिङमा शर्माले र पौडेलले प्रशस्त मात्रामा पीसीआर कीट लगायत स्वास्थ्य सामग्री हुँदाहुँदै थप खरिद गरी अनियमितता गरेका आरोप लगाएपछि कारबाही गरिएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ।
मन्त्रालयका सहसचिव डा. गुणराज लोहनीसहित सहभागी भएको जुम मिटिङमा विभागीय प्रमुख डा. गोपाल लामा र प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीको मिलेमतोमा अनावश्यक सामग्री किनेर अनिमितता गरेको आरोप उहाँहरूले लगाउनु भएको स्रोतको भनाइ छ ।
पीसीआर परीक्षणका लागि मन्त्रालयले दिएको सामग्री मौदाज रहँदा रहँदै पनि आर्थिक लाभका लागि करिब ५ करोडको कीट लगायत सामग्री खरिद गरेको निलम्बितहरुले आरोप लगाएको स्रोतले हेल्थपाटीलाई जानकारी दियो। स्रोतका अनुसार आर्थिक लाभकै लागि स्वास्थ्य मन्त्रालयले पीसीआर परिक्षणमा प्रयोग गर्न आवश्यक नभएको भनिएका सामग्री पनि खरिद गरिएका छन्।

हेल्थपाटी
तपाईँको अभिमत