कोरोनाबारे अनुसन्धानका लागि ८७ प्रस्ताव स्विकृत, प्लाज्मा थेरापीबारे अध्ययन गरिने
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एचएचआरसि) ले कोरोनाबारे अनुसन्धान गर्न ८७ वटा प्रस्तावलाई स्विकृति प्रदान गरेको छ । परिषद्का सदस्य सचिव सचिव डा.प्रदीप ज्ञवालीले कोरोना सार्स कोभ २ सँग सम्वन्धित १२० वटा प्रस्ताव आएकोमा इथिकल रिभ्यू बाेर्डबाट ८७ वटा प्रस्तावलाई स्विकृति दिइएको जानकारी दिनुभयो । जसमध्ये केहीको रिपोर्ट आइसकेको, केही अनुसन्धानकै चरणमा रहेकोे बताउनुभयो ।
हाल १० वटा अनुसन्धान चलिरहेको जानकारी दिदै उहाँले कोरोनाको महामारीमा आँखा रोगको उपचारमा सहभागी डाक्टर तथा स्वास्थ्यकर्मीहरुको अनुभवका सम्बन्धमा अनुसन्धान चलिरहेको जानकारी दिनुभयो ।
ज्ञवालीका अनुसार अग्र स्थानमा रही कोरोना उपचार गर्न डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी कत्तिको तयारी अवस्थामा छ ? सरकारले स्थापना गरेको ९३ वटा कोरोना क्लिनिक तथा ३१ वटा अस्पतालमा कोरोना उपचारको पूर्वतयारी, कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको मानसिक स्वास्थ्य अवस्था, कोरोना उपचारमा अग्र स्थानका डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरुको अनुभव, सर्वसाधरणले कोरोनालाई कसरी लिएका छन्, क्वारिन्टन र आइसोलेसनलाई कसरी बुझेका छन् लयायतका विभिन्न १० वटा विधामा अनुसन्धान भइरहेको छ ।
परिषद् आफैले कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको मानसिक स्वास्थ्य अवस्था, कोरोना उपचारमा अग्र स्थानका डाक्टरको अनुभवका विषयमा गरेको अध्ध्यनको रिर्पार्ट तयारी भइसकेको बताउँदै अन्य तीन महत्वपूर्ण अनुसन्धान सुरु हुने प्रक्रियामा रहेको ज्ञवालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, कोरोना उपचारमा प्रयोग हुने औषधि, जिन सिक्वेन्स तथा प्लाज्मा थेरापीबारे अध्ययन छिट्टै सुरु हुन्छ, यी अध्ययनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति प्राप्त भई इथिकल रिभ्यु बोर्डबाट पनि पास भइसकेको छ अब हामी अध्ययन सुरु गरिहाल्छौ ।
निको भएका कोरोनाका बिरामीमा शरीरमा एन्टीबडी कत्तिको उत्पादन भएको छ र प्लाज्मा थेरापीबाट यसको प्रयोग अन्य कोरोनाका बिरामीमा गर्ने सम्बन्धमा अनुसन्धान थाल्ने ज्ञवालीले बताउनुभयो । यस्तै कोरोनाका उपचारमा आयुर्वदिक औषधिको प्रभावकारीताका सम्बन्धमा पनि अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो ।
गत जुन २८ देखि हालसम्म जनस्वास्थ्य विषयमा अनुसन्धानका लागि ५११ वटा प्रस्ताव प्राप्त भएकोमा परिषद्को रिभ्यु बोर्डबाट ३५१ वटा प्रस्ताव छनौट भएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत