नेपालमा पहिलाे पटक रोटा भाइरस विरुद्धको खोप सुरु
काठमाडौं । नेपालमा रोटा भाइरस विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भर्चुअल कार्यक्रम मार्फत रोटा भाइरस विरुद्धको खोप कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । अब देशभरका ६ देखि १० हप्तासम्मका शिशुले दुईपटक रोटारिक्स खोप पाउनेछन् । देशभरका १६ हजार खोप केन्द्रमार्फत शिशुले निशुल्क खोप पाउनेछन् ।
रोटा भाइरस विरुद्धको खोप पनि अन्य नियमित खोप जस्तै नजिकका स्वास्थ्य संस्थाहरुमा उपलब्ध हुनेछ । परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले रोटाभाइरस विरुद्धको खोप एक पटकमा १.५ एमएल मुखबाट स्वास्थ्यकर्मीहरुले खुवाउने जानकारी दिनुभयो । ग्लोबल एलायन्स फर भ्याक्सिन्स एण्ड इमुनाइजेसन (गाभी)को सहयोगमा युनिसेफले ३ लाख २४ हजार भाइल रोटाभाइरस विरुद्धको खोप ‘रोटारिक्स’ पठाएको छ ।
साथै रोटा विरुद्धको खोपसँगै सरसफाई प्रर्वद्धनको कार्यक्रमको पनि थालनी भएको छ । सरसफाई प्रर्वद्धन कार्यक्रम अन्तर्गत साबुनपानीले हात धुने, बालबालिकाको दिशा शौचालयमा नै सफा गर्नुपर्ने लगायतका कार्यक्रमहरु रहेका छन् ।
सरकारको नियमित खोप कार्यक्रममा हाल वीसीजी, पोलियो, पीसीभी, जेई, प्यान्टाभ्यालेन्ट (डीपीटी, हेपाटाइटिस बी, हिब) एमआर र एफआईपीभी खोप रहेकोमा अब रोटा शुरु भएपछि नियमित खोपको संख्या १२ पुगेको छ । यो वर्षभरि ६ लाख २० हजार बालबालिकालाई रोटा विरुद्धको खोप दिइने गौतमले जानकारी दिनुभयो ।
रोटा भाइरसका कारण हुने पखाला पातलो पानी जस्तो हुन्छ जसका कारण शरिरमा पानी सकेर जटिल जल वियोजन गराई बालबालिकाको मृत्यु गराउने गौतमले बताउनुभयो ।
पछिल्लो ४ वर्षको सर्वेक्षणको तथ्यांक हेर्दा नेपालमा वर्षेनी ५ वर्ष मुनिका कम्तिमा ३ लाख ५० हजार बालबालिकाहरु पखालाका कारण सिकिस्त बिरामी भई अस्पताल भर्ना हुने गरेका छन् । सन् २०१० देखि २०१६ सम्म कान्ति बाल अस्पतालमा गरिएको एक सर्वेक्षणमा पखालाका कारण अस्पताल भर्ना भएकामध्ये ३८ प्रतिशत बालबालिकालाई रोटा भाइरसका कारण पखाला लाग्ने गरेको पाइएको थियो ।
नेपालमा कम्तिमा ३ लाख ५० हजार बालबालिकाहरु पखालाका कारण सिकिस्त बिरामी भई अस्पताल भर्ना हुन्छन् ।अझैपनि १० प्रतिशत बालबालिकाको मृत्यु पखालाका कारण हुने गरेको छ । पखालाका कारण हुने कुल मृत्युमा ३० प्रतिशत मृत्यु रोटा भाइरसबाट हुने पखालाका कारण हुने गर्दछ ।
हेल्थपाटी
तपाईँको अभिमत