उपत्यकामा १७ सहित थप ४८२ थपिए, संख्या १४ हजार ४६
४ हजार ६५६ जना डिस्चार्ज, एक जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४८२ लाई कोरोना भाइरस रोग(कोभिड–१९)को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले ११७ महिला र ३६५ पुरुषलाई कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।
जसमा पुरुषको संख्या १२ हजार २७२ रहेको छ भने १ हजार ७७४ महिला रहेका छन् । जसमा १८ वर्षभन्दा मुनिका २ हजार ६१ बालबालिकालाई कोरोना पुष्टि भएको छ । यस्तै प्रवक्ता गौतमले बालबालिकामा संक्रमण बढ्नुका साथै मृत्युसमेत भइरहेको अवस्थामा बालबालिकालाई सकेसम्म घरमा नै राख्न अनुरोध गर्नुभयो । उहाँले निस्कनै परेमा मास्क लगाउने र २ मिटरको दुरीमा बस्न सुझाव दिदै संक्रमित आमा बुवाबाट छोराछोरीलाई अलग्गै राख्ने व्यवस्था मिलाउन पनि आग्रह गर्नुभयो ।
आज काठमाडौंका १० जनालाई कोरोना पुष्टि भएको छ । जसमा ५ पुरुष र ५ महिला छन् । यस्तै भक्तपुरकी १ महिला र १ पुरुष हुनुहुन्छ भने ललितपुरका २ पुरुष र ३ महिला छन् । देशका २३ वटा प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ४८२ संक्रमित थपिए । प्रवक्ता गौतमले हालसम्म ४ हजार ६५६ जना डिस्चार्ज भएको बताउनुभयो ।
जसअनुासर पछिल्लो २४ घण्टामा १ हजार ४६२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ८८६ जनाको पीसीआर परीक्षण भएसँगै पीसीआर परीक्षणको संख्या २ लाख ३३ हजार २२७ पुगेको छ । आइसोलेसनमा ९ हजार ३६० जना संक्रमित बसिरहेका छन् भने हाल ४८ हजार ३६२ जना क्वारेन्टिनमा बसिरहेका छन् ।
५ सयभन्दा बढी संक्रमित रहेको ७ जिल्ला
प्रवक्ता गौतमले हालसम्म प्रदेश नम्बर २ का महोत्तरी, रौतहट र सर्लाही, प्रदेश नम्बर ५ का कपिलवस्तु र दाङ, कर्णाली प्रदेशको दैलेख र सुदुरपश्चिमको कैलाली जिल्लामा पाँच सय भन्दा बढी संक्रमित रहेको जानकारी दिनुभयो ।
एक जनाको मृत्यु
यस्तै उहाँले अछाममा मृत्यु भएका एक बिरामीमा कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिनुभयो । मधुमेहका बिरामी रहेका ४५ वर्षका पुरुषको असार १४ गते उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार ती पुरुषलाई एक्कासी स्वास्प्रस्वारमा समस्या आएपछि असार १३ गते अस्पताल ल्याइएको थियो । मृत्यु भएको भोलिपल्ट स्वाब संकलन गरिएको र असार १६ गते रिपोर्ट पोजेटिभ आएको थियो । यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत