एक चिकित्सक / एक स्वास्थ्यकर्मी - एक स्वास्थ्य संस्था’ मस्यौदा तर्जुमा समिति गठन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक चिकित्सक / एक स्वास्थ्यकर्मी - एक स्वास्थ्य संस्था’ मस्यौदा तर्जुमा समिति गठन गरेको छ । सरकारले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रममा एक स्वास्थ्यकर्मी एक चिकित्सक कार्यक्रम ल्याएपछि सोको कार्यान्वयनका लागि मन्त्रालयले तर्जुमा समिति गठन गरेको हो ।
असार १२ गतेको स्वास्थ्य मन्त्रीस्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव डा. गुणराज लोहनीको संयोजकत्वमा तर्जुमा समिति गठन गरिएको हो । समितिको सदस्यसचिवमा स्वास्थ्य सेवा विभागका बरिष्ठ स्वास्थ्य प्रशासक डा. माधवप्रसाद लम्साल तोकिनुभएको छ । समितिको सदस्यमा वीर अस्पतालका डा. रविन खड्का, राष्ट्रिय ट्रमा सेन्टरका डा. दीपेन्द्र पाण्डे, एनएसआइका डा. कासिम शाह रहनुभएको छ ।
यस्तै नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि, नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि, नेपाल नर्सिङ एसोसिएसनका प्रतिनिधि, पारामेडिकल एसोसिएसन नेपालका प्रतिनिधि सदस्य रहेका छन् । समितिले निर्देशक समितिको राय सल्लाह बमोजिम एक चिकित्सक एक स्वास्थ्य संस्थाको अवधारणा पत्रको मस्यौदा तयार गर्ने, अवधारणा पत्र अनुसार कार्यविधि तर्जुमा गर्ने, अवधारणा पत्र र कार्यविधिको मस्यौदा निर्देशक समितिमा पेश गरी राय सुझाव संकलन गर्ने र मस्यौँदालाई अन्तिम रुप दिई स्वीकृतिको लागि कार्य अघि बढाउनुपर्नेछ । समितिको कार्यअवधि असार मसान्तसम्म रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत