पखालाबाट जोगाउन भाेलिबाट रोटा भाइरस विरुद्धको खोप दिइदै

काठमाडौं । पखालाका कारण हुने बालबालिकाको मृत्युलाई रोक्न नेपालमा रोटा भाइरस विरुद्धको खोप भाेलिबाट सुरु हुने भएको छ । रोटा भाइरस विरुद्धको खोपलाई नियमित खोप कार्यक्रममा राख्दै जन्मेको ६ र १० हप्ता गरी शिशुलाई दुईपटक दिइने रोटारिक्स खोप कार्यक्रमकाे शुभारम्भ भाेलि हुदैछ ।
परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले स्वास्थ्य मन्त्रालयबाट एक भर्चुअल कार्यक्रम मार्फत स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कार्यक्रममको शुभारम्भ गर्ने तय भएकाे जानकारी दिनुभयाे । नेपाल टेलिभिजनबाट बिहान १० देखि ११ बजेसम्म हुने भर्चुअल कार्यक्रमबाट खोपको शुभारम्भ गरेपछि देशभर रोटा भाइरस विरुद्धको खोप दिइने उहाँले बताउनुभयाे ।
साथै उहाँले रोटा विरुद्धको खोपसँगै सरसफाई प्रर्वद्धनको कार्यक्रमको पनि थालनी गरिने बताउनुभयो । सरसफाई प्रर्वद्धन कार्यक्रम अन्तर्गत साबुनपानीले हात धुने, बालबालिकाको दिशा शौचालयमा नै सफा गर्नुपर्ने लगायतका कार्यक्रमहरु पर्ने उहाँले थप्नुभयाे । गौतमले यस्तो विषम परिस्थितिमा पनि अर्काे नयाँ खोप थप गर्न सक्नु ठुलो उपलव्धि रहेको बताउँदै उहाँले रोटा भाइरस विरुद्धको खोप पनि अन्य नियमति खोप जस्तै नजिकका स्वास्थ्य संस्थाहरुमा उपलब्ध हुने जानकारी दिनुभयो ।
रोटाभाइरस विरुद्धको खोप एक पटकमा १.५ एमएल मुखबाट स्वास्थ्यकर्मीहरुले दिने जानकारी दिदै उहाँले ग्लोबल एलायन्स फर भ्याक्सिन्स एण्ड इमुनाइजेसन (गाभी)को सहयोगमा युनिसेफले ३ लाख २४ हजार भाइल रोटाभाइरस विरुद्धको खोप ‘रोटारिक्स’ पठाएको बताउनुभयाे।
सरकारको नियमित खोप कार्यक्रममा हाल वीसीजी, पोलियो, पीसीभी, जेई, प्यान्टाभ्यालेन्ट (डीपीटी, हेपाटाइटिस बी, हिब) एमआर र एफआईपीभी खोप रहेकोमा अब रोटा शुरु भएपछि नियमित खोपको संख्या १२ पुगेको छ । यो वर्षभरि ६ लाख २० हजार बालबालिकालाई रोटा विरुद्धको खोप दिइने उहाँले बताउनुभयो । रोटा भाइरसका कारण हुने पखाला पातलो पानी जस्तो हुन्छ जसका कारण शरिरमा पानी सकेर जटिल जल वियोजन गराई बालबालिकाको मृत्यु गराउने गाैतमले बताउनुभयो ।
पछिल्लो ४ वर्षको सर्वेक्षणको तथ्यांक हेर्दा नेपालमा वर्षेनी ५ वर्ष मुनिका कम्तिमा ३ लाख ५० हजार बालबालिकाहरु पखालाका कारण सिकिस्त बिरामी भई अस्पताल भर्ना हुने गरेका छन् गाैतमले भन्नुभयो,“हामीले सन् २०१० देखि २०१६ सम्म कान्ति बाल अस्पतालमा एक सर्वेक्षण गरेका थियौं जसमा पखालाका कारण अस्पताल भर्ना भएकामध्ये ३८ प्रतिशत बालबालिकालाई रोटा भाइरसका कारण पखाला लाग्ने गरेको पाइयो । ”
नेपालमा कम्तिमा ३ लाख ५० हजार बालबालिकाहरु पखालाका कारण सिकिस्त बिरामी भई अस्पताल भर्ना हुन्छन् ।अझैपनि १० प्रतिशत बालबालिकाको मृत्यु पखालाका कारण हुने गरेको छ । पखालाका कारण हुने कुल मृत्युमा ३० प्रतिशत मृत्यु रोटा भाइरसबाट हुने पखालाका कारण हुने गर्दछ । रोटा भाइरस विरुद्धको खोपलाई नियमित खोपमा समावेश गरि बैशाखबाट सुरु गर्ने सरकारको योजना थियो तर कोरोना महामारीका कारण खोप आउन ढिलाइ भयो ।
सरकारले रोटाभाइरस विरुद्धको खोप सन् २०१६ देखि नै शुरु गर्ने तयारी गरेको थियो तर खोपको उपलव्धतामा विभिन्न समस्या हुँदा यो खोपको शुरुवात झण्डै ४ बर्ष पछि हुन लागेको हो ।
तपाईँको अभिमत