भारतमा कोरोनाविरुद्धको खोप मानवमा परीक्षण हुँदै
काठमाडौं । भारतमा पनि कोरोना भाइरस विरुद्धको खोपको परीक्षण मानिसमा हुने भएको छ । सरकारको औषधि नियमन तथा नियन्त्रण निकायले कोभाक्सिन नामक खोपलाई मानव परीक्षणका लागि अनुमति दिएको छ । भारतको मेडिकल काउन्सिल रिसर्चस् नेशनल इन्स्टिच्यूट अफ भाइरोलोजि र भारत बायोटेक कम्पनीको संयोजनमा निर्मित उक्त खोपलाई पहिलो र दोस्रो चरणमा मानव परीक्षण गर्न अनुमति दिइएको छ ।
देशभर जुलाईदेखि खोपको परीक्षण सुरु गरिने बायोटेक कम्पनीले जानकारी दिएको अल्जजीरामा समाचार छ । बायोटेक कम्पनीले हैदराबादमा खोपको उत्पादन गर्ने जनाएको छ । बायोटेक कम्पनी खोप परीक्षणमा भारतकै पहिलो स्थानिय कम्पनी बनेको छ । कोरोना संक्रमणबाट अति प्रभावित देशमा भारत अमेरिका, ब्राजिल र रुसपछि चौथो स्थानमा पर्दछ । भारतमा आजमात्रै २० हजार नयाँ व्यक्तिमा कोरोना पोजेटिभ पुष्टि भएको छ । त्यहाँ १६ हजार भन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ ।
हालसम्म कोरोना विरुद्धको कुनैपनि खोप बनेको छैन यद्यपी दर्जन भन्दा बढी खोप मानव परीक्षण भएको छ भने १०० भन्दा बढी खोप परीक्षणकै चरणमा छ ।
हेल्थपाटी 
तपाईँको अभिमत