१९ प्रयोगशालालाई ५०/ ५० लाख जोखिमभत्ता, स्वास्थ्यकर्मीले किन पाएनन् ?
सुर्खेतमा प्रोत्साहन भत्ता नपाएको भन्दै चिकित्सक आन्दोलित

फाइल फोटो
रघुराम बिष्टले जोखिमभत्ता र भत्ता फरक विषय रहेको बताउँदै प्रोत्साहन भत्ता पाउनेले जोखिमभत्ता नपाउने बताउनुभयो ।
काठमाडौं । कोरोना रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई चैत देखिनै जोखिमभत्ता दिने भनेर निर्देशिका बनाइएको छ तर अझैपनि स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउन सकेका छैनन् । स्वास्थ्य मन्त्रालयका अनुसार संघमा २ हजार ६ सय, प्रदेशमा ५ हजार र स्थानिय तहमा २५ हजार गरि हाल देशभर करिव ३२ हजार ६ सय स्वास्थ्यकर्मी छन् । जसमध्ये केही स्थानिय तहका स्वास्थ्यकर्मीहरुले भत्ता पाएका छन् ।
निर्देशिका नै जारी भइसक्दा पनि स्वास्थ्यकर्मीहरुले जोखिमभत्ता किन पाउन सकेनन् भन्ने प्रश्नमा स्वास्थ्य मन्त्रालय प्रशासन विभाग प्रमुख रघुराम बिष्टले जोखिमभत्ता र प्रोत्साहन भत्ता फरक विषय रहेको बताउँदै प्रोत्साहन भत्ता पाउनेले जोखिमभत्ता नपाउने बताउनुभयो ।"एक व्यक्तिले एक शीर्षकको सुविधा पाउने हो हामी के कुरामा स्पष्ट हुनपर्यो भने जोखिमभत्ता भनेको कोरोना उपचारमा जोखिम मोलेर खटिएका स्वास्थयकर्मीको लागि हो उहाँले भन्नुभयो, जो स्वास्थ्यकर्मी तथा कर्मचारी कोरोना उपचारमा खटिएका छैनन् तर लकडाउनको समयमा निरन्तर कार्यालय वा खटाएको स्थानमा कार्यरत छन् उनीहरुले पाउने सुविधा प्रोत्साहन भत्ता हो, जोखिमभत्ता होइन । "
मन्त्रिपरिषद्ले निर्णय गरिसकेको र निर्देशिका जारी भइसकेको अवस्थामा भत्ता पाइदैन भनेर वा पाइएन भनेर निराश हुनुपर्दैन सबैले भत्ता पाउछन् सम्बन्धित कार्यालयले भत्ता वितरण गर्ने हो बजेट भएन भने स्वास्थ्य मन्त्रालयसँग माग गर्ने हो मन्त्रालयले बजेट निकासा गर्छ भन्दै ढुक्क भएर सेवा गर्न स्वास्थ्यकर्मीहरुलाई विष्टले आग्रह गर्नुभयो ।
निर्देशिकाले समेट्न नसकेको विषयलाई मन्त्रालयले नीतिगत निर्णय गरि भत्ता उपलब्ध गराउने पोखरेलले बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले सम्पूर्ण स्वास्थ्यकर्मीहरुले जोखिमभत्ता एवं कर्मचारीहरुले प्रोत्साहन भत्ता पाउने बताउनुभयो । मन्त्रालयले अर्थ मन्त्रालयसँग सहमति मागेको र अर्थको सहमति पछि मन्त्रालयले थप भत्ता निकासा गर्ने उहाँले जानकारी दिनुभयो । निर्देशिकाले समेट्न नसकेको विषयलाई मन्त्रालयले नीतिगत निर्णय गरि भत्ता उपलब्ध गराउने पोखरेलले बताउनुभयो ।
अहिले जुन – जुन कार्यालयमा खर्च हुन नसकेको शीर्षकबाट रकमान्तरण गरि भत्ता खुवाउन सकिने र मन्त्रालयबाट भत्ता निकास भएपछि उक्त रकम सोधभर्ना गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो । जोखिमभत्ताकै लागि १९ वटा प्रयोगशालालाई ५०÷५० लाख बजेट पठाइसकेको बताउँदै उहाँले प्रयोगशाला प्रमुखले प्रयोगशालाकर्मीहरुले गरेको समयको मुल्यांकन गरि जोखिमभत्ता उपलब्ध गराउनेछन् ।
प्रयोगशालाकर्मीले आठ घण्टा काम गरेबापत् १०० प्रतिशत नै जोखिम भत्ता पाउछन्, आठघण्टा भन्दा बढी खटिएका स्वास्थ्यकर्मीहरुले अतिरिक्त समयको हिसाब गरि थप भत्ता पाउनेछन् । उदाहरण दिदै उहाँले भन्नुभयो, 'यदि कोही १६ घण्टा खटिएका छन् भने उनीहरुले पाउने १०० प्रतिशत भत्तामा अर्काे आठ घण्टाको थप १०० प्रतिशतनै जोडि जोखिमभत्ता पाउनेछन् ।"
सुर्खेतमा प्रोत्साहन भत्ता नपाएको भन्दै चिकित्सक आन्दोलित
प्रोत्साहन भत्ता नपाएको भन्दै कर्णालीका चिकित्सक आन्दोलित भएका छन् । कर्णाली प्रदेश अस्पतालमा करार सेवामा कार्यरत आठौं तहका चिकित्सकले प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नदिएको भन्दै आन्दोलन थालेका हुन् ।
प्रदेश सरकारले प्रदेशका विभिन्न सरकारी स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकका लागि प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो ।
तर, आफूहरूले अहिलेसम्म भत्ता नपाएको चिकित्सकको गुनासो छ । चालु आर्थिक वर्ष सकिन लाग्दा पनि भत्ता नदिएपछि आन्दोलन गर्न बाध्य भएको प्रदेश अस्पतालमा कार्यरत चिकित्सक प्रकाश वलीले बताउनुभयो । यसभन्दा अगाडि पटक–पटक लिखित र मौखिक रूपमा सरकारलाई भत्ता उपलब्ध गराउन माग गरे पनि सुनुवाई नभएपछि आन्दोलन गरिएको उहाँको भनाइ छ ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत