स्वास्थ्यकर्मीले भक्तपुरमै पाएनन् जोखिम भत्ता
कतै ७५ प्रतिशत जोखिमभत्ता पाए कतै शुन्य
काठमाडौं । कोरोना भाइरस रोग(कोभिड १९)को महायुद्धमा स्वास्थ्यकर्मीहरु अग्र स्थानका कमाण्डर हुन् । कोरोना उपचारमा प्रत्यक्ष सहभागि भएका वा अन्य स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मी नै किन नहोस् उनीहरुनै अहिलेको संकटमा अग्र स्थानमा छन् ।
कोरोनाको उपचार तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई सरकारले जोखिम भत्ता दिनेपनि भनेको छ तर जोखिमभत्ता सम्बन्धी निर्देशिकाले सम्पूर्ण स्वास्थ्यकर्मीलाई समेट्न नसकेकाले यसलाई परिमार्जन गर्ने गृहकार्यमा छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ।
यसअघि मन्त्रालयद्वारा जारी निर्देशिकामा ५०, ७५ र १०० प्रतिशत जोखिमभत्ता दिने व्यवस्था गरिएको थियो तर निर्देशिकाले सबै स्वास्थ्यकर्मीलाई समेट्न नसकेको गुनासो स्वास्थ्यकर्मीहरुले गरेपछि मन्त्रालयले निर्देशिका परिमार्जन गर्दैछ । परिमार्जित निर्देशिकामा अतिरिक्त समयको पनि हिसाब गरी भत्ता दिईने व्यवस्था मिलाउने तयारी भएको छ, जसअनुसार २०० प्रतिशतसम्म भत्ताको व्यवस्था गर्ने स्वास्थ्य मन्त्रालयको तयारीे छ ।
निर्देशिका समावेशी नभएपछि अहिले संघ, प्रदेश र स्थानिय तहका स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ता कसरी वितरण गर्ने भन्ने विषय अन्यौलमा छ । केही स्थानिय तहमा भने स्थानिय बजेट अनुसार नै स्वास्थ्यकर्मीलाई लकडाउन अवधिभरको जोखिमभत्ता उपलब्ध गराउने निर्णय भएको छ । भक्तपुर जिल्लामा चाँगुनारायण र मध्यपुर ठिमी नगरपालिकाका स्वास्थ्यकर्मीहरुले नगरपालिकाकै कोषबाट जोखिमभत्ता पाउने भएका छन् । तर सूर्यविनायकका स्वास्थ्यकर्मीहरुको हकमा भने नगरपालिकासँग बजेट नभएकाले हाललाई व्यवस्था गरिएको छैन ।
चाँगुनारायण नगरपालिकाका कार्यकारी प्रमुख चिरञ्जिवि तिमिल्सिनाले भन्नुभयो, कोरोनाको संकटमा स्वास्थ्यकर्मीहरु दिनरात नभनी लागि रहनुभएको छ, स्वास्थ्य मन्त्रालयले दिने भनेको भत्ता त छदैछ त्यसका अलावा हामीले उहाँहरुको मनोबल बढाउन नगरकै कोषबाट जोखिमभत्ता दिने निर्णय गरेका हौं । लकडाउन अवधिभर हामी नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरुलाई भत्ता दिनेछौ, चैतदेखिनै हामीले दिइरहेका छौ ।
यस्तै मध्यपुर ठिमी नगरपालिकाले पनि स्वास्थ्यकर्मीलाई जोखिमभत्ता दिने निर्णय गरेको छ । नगरपालिकाका सूचना अधिकारी केशव सिलवालले स्वास्थ्यकर्मीलाई बजेट पुगेसम्म संघीय बजेट अनुसार नै नपुगे नगरकै कोषबाट भत्ता दिने निर्णय भएको जानकारी दिनुभयो । क्वारेन्टाइनमा खटिरहनुभएको छ, अन्य स्वास्थ्य सेवामा लागिरहनुभएको छ त्यसैले हामीले कम्तिमा ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेका हौं अधिकारीले बताउनुभयो ।
तर भक्तपुरकै सूर्यविनायक नगरपालिकाका स्वास्थ्यकर्मीहरुले भने जोखिम भत्ता पाएका छैननन् । दिनरात, परिवार नभनी स्वास्थ्य सेवामा खटिएका छौ, क्वारेन्टाइनमा जान्छौ तर हामीलाई जोखिमभत्ता दिइएको छैन एक स्वास्थ्यकर्मीले भन्नुभयो । सूर्यबिनायक नगरपालिकाका प्रमुख कमल ज्ञवालीले नियमित तलव खुवाउन समेत समस्या परिरहेको अवस्थामा आफुहरुले तत्काल स्वास्थयकर्मीहरुलाई अतिरिक्त सुविधा दिन नसक्ने जानकारी दिनुभयो । आफुहरुले यस विषयमा स्वास्थ्य मन्त्रालयमा वजेट माग गरेको र मन्त्रालयले पठाएमा स्वास्थ्यकर्मीले जोखिमभत्ता पाउने उहाँले बताउनुभयो ।
यस्तै काठमाडौंको नागार्जुन नगरपालिकाका स्वास्थ्यकर्मीले पनि ७५ प्रतिशतसम्म जोखिमभत्ता पाइरहेका छन् । स्वास्थ्य संयोजक संगिता योगीले आफुहरुले जोखिम भत्ता पाइरहेको बताउनुभयो । उहाँले फिवर क्लिनिक, आइसोलेसन वार्ड, क्वारेन्टाइनमा गरि पालैपालै ड्युटीको सिफ्ट मिलाइएको र सबैले असारसम्मको जोखिमभत्ता पाएको जानकारी दिनुभयो ।
जोखिमभत्ताबाट भक्तपुरको सूर्यविनायक नगरपालिकाका स्वास्थ्यकर्मीहरु मात्रै बञ्चित भएका होइनन् देशका विभिन्न स्थानिय निकायका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता नपाएको गुनासो गरिरहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत