३५ सय स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

फाइल फोटो
केपटाउन । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी नै सङ्क्रमित भएका छन् ।देशका स्वास्थ्य मन्त्री ज्वेली एमखिजाले दिएको जानकारी अनुसार देशभर कुल तीन हजार ५८३ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । तीमध्ये ३४ स्वास्थ्यकर्मीको मृत्यु भएको छ।
'आफ्नै मृत्यु हुनेबेलासम्म पनि स्वास्थ्य सेवा गर्नु भएका र सेवा गर्ने क्रममा सङ्क्रमित भएर मृत्यु भएका सबै स्वास्थ्यकर्मीहरुको आत्माको शान्तिको कामना गर्दछु,' उहाँले भन्नुभयो।इस्टर्न केप प्रान्तको उइतेन्हामा निर्माण गरिएको तीन हजार तीन सय शैय्याको पहिलो चरणको फिल्ड अस्पतालको शुभारम्भ गर्दै उहाँले यस्तो जानकारी दिनुभएको हो ।
सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये एक हजार ९९३ जना सङ्क्रमणमुक्त भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।दक्षिण अफ्रिकामा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या बढ्दै गइरहेको पनि स्वास्थ्य मन्त्रीले जानकारी दिनुभयो।
पछिल्लो विवरण अनुसार देशभरी एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने एक हजार ९९१ जनाको मृत्यु भएको छ । आवश्यकता पूर्तिका लागि सरकारले नयाँ स्वास्थ्यकर्मीलाई सरकारी सेवामा लगाउने प्रयास एकातर्फ गरिरहेका छ भने अर्कोतर्फ हालै अवकासप्राप्त स्वास्थ्यकर्मीलाई पनि सेवामा सहभागी हुन आह्वान गरेको छ ।
त्यसैगरी अन्य स्वास्थ्यकर्मीहरुलाई पनि कोरोनाविरुद्धको लडाईमा आआफ्नो तरिकाले लाग्न पनि सरकारले आग्रह गरेको छ। उनीहरुलाई काममा फर्काउन आवश्यक आधारभूत तालिम, सुरक्षा र प्रतिरक्षाको व्यवस्था सरकारले गरिदिने आश्वासन पनि स्वास्थ्य मन्त्री एमखीजाले दिनुभएको छ । रासस/सिन्ह्वा
हेल्थपाटी
तपाईँको अभिमत