फोहोर फाल्नेको फोटो र भिडियो दिनेले पुरस्कार पाउने

फाइल फोटो
दाङ । तुलसीपुर उपमहानगरपालिकाले फोहर गर्ने व्यक्तिको विवरण दिनेलाई पुरस्कार दिने नीति ल्याएको छ । उपमहानगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममा फोहर गर्ने व्यक्तिको तस्बिर र भिडियोसहितको विवरण दिने व्यक्ति वा संस्थालाई पुरस्कार दिइने उल्लेख गरिएको छ ।
जथाभाबी फोहर फाल्दा बजारको फोहर बाढीले बगाएर किसानको खेतबारीमा पुर्याउने भएकाले खेती गर्न समस्या हुने र उत्पादन घट्ने समस्या देखिएपछि नगरपालिकाले यस्तो नीति बनाएको नगर प्रमुख घनश्याम पाण्डेले बताउनुभयो।
टोल विकास संस्थालाई ‘आफ्नो टोल आफैँ सफा राखौं’ अभियानमा सहभागी गराउँदै ग्रिन तुलसीपुर, क्लिन तुलसीपुर अभियानलाई नगरका सबै क्षेत्रमा विस्तार गरिने तथा बेवारिसे शव र मरेका चौपायाको तत्काल व्यवस्थापन गरिने नीति सार्वजनिक गरिएको छ ।
फोहोर मैला संकलन तथा सरसफाइमा खट्ने कर्मचारीको स्वास्थ्य परीक्षणलगायत अन्य सुरक्षा मापदण्ड अपनाइने र सरसफाइ तथा फोहोर मैला व्यवस्थापनमा टोल विकास संस्था, निजी क्षेत्र सहकारी र समुदायबीच सहकार्य गरिनेछ । त्यसैगरी स्थायी ल्याण्डफिल साइटको व्यवस्था गरिने नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । बजारमा प्लाष्टिक झोलामा कडाइ गरेको उपमहानगरपालिकाले नगर क्षेत्रभित्र २० माइक्रोनभन्दा कमको प्लाटिक झोला प्रयोगमा निषेध गर्ने नीति तथा कार्यक्रममा ल्याएको छ । रासस
हेल्थपाटी
तपाईँको अभिमत