एकैदिन थपिए १ लाख ८३ हजार संक्रमित, अहिले सम्मकै सर्वाधिक
संक्रमितको संख्या ८९ लाख नाघ्यो
काठमाडौं । विश्वमा एकै दिन १ लाख ८३ हजार कोरोना भाइरस रोग(कोभिड १९) का बिरामी थपिएका छन् । २४ घण्टामा यति धेरै संक्रमित थपिएको यो अहिलेसम्मकै उच्च हो । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) ले पछिल्लो २४ घण्टामा १ लाख ८३ हजार नयाँ संक्रमित थपिएको र यो महामारी सुरु भएयता अहिले सम्मकै उच्च रहेको जानकारी दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
डब्ल्यूएचओका अनुसार ६० प्रतिशत भन्दा धेरै संक्रमित उत्तरी र दक्षिणी अमेरिकाका रहेका छन् । उत्तरी र दक्षिणी अमेरिकामा मात्रै १ लाख १६ हजार संक्रमित थपिएका छन् । जुन जुन देशमा लकडाउन खुकुलो गरिएको छ त्यहाँ संक्रमित झन्–झन् बढ्दै गएको डब्ल्यूएचओको भनाई छ ।
अमेरिकामा कोरोनाबाट अतिप्रभावित देशमा पहिलोमा पर्दछ जहाँ २२ लाख ७९ हजार कोरोना संक्रमित रहेको पुष्टि भइसकेको छ । यस्तै अमेरिकापछि ब्राजिल दोस्रोमा पर्दछ जहाँ ११ लाख भन्दा बढी मानिसलाई कोरोना पुष्टि भइसकेको छ भने ५० हजार ६१७ जनाको मृत्यु भइसकेको छ ।
विश्वभर हालसम्म कोरोना संक्रमितको संख्या ८९ लाख नाघेको छ भने ४ लाख ६७ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । ४३ लाख भन्दा बढी संक्रमितले कोरोना जितेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत