२ प्रतिशत संक्रमितमा मात्रै कोरोनाको लक्षण, संक्रमण समुदायमा फैलिएको छैन

काठमाडौं । नेपालमा हालसम्म संक्रमण पुष्टि भएकामध्ये ९८ प्रतिशत बिरामीमा कोरोनाको कुनै पनि लक्षण नदेखिएको पाइएको छ । ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बासुदेव पाण्डेले २ प्रतिशत संक्रमितलाई मात्रै कोरोनाको लक्षण देखिएकाले गम्भिर किसिमका बिरामीको संख्या अत्यन्तै न्यून रहेको जानकारी दिनुभयो ।
उहाँले संक्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका र उनीहरु सबैजसो भारतबाट आएकाहरु रहेको बताउँदै १५ देखि ५४ वर्षेउमेरका ९२ प्रतिशत पुरुषलाई संक्रमण भएको जानकारी दिनुभयो ।
यसरी पुरुष धेरै संक्रमित हुनुुको कारणमा कामका लागि उनीहरु भारत गएको र फर्किदानै संक्रमित भएर फर्किएको पाण्डेको भनाइ छ । संक्रमितहरु सबै आयातित रहेकाले हालसम्म समुदायमा संक्रमण नफैलिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार हालसम्म कोरोनाका कारण मृत्यु भएका २३ जनामध्ये ४ महिला र १९ जना पुरुष रहेका छन् । मृत्यु भएकाहरुमा मिगौंला सम्वन्धि समस्या,दम,उच्च रक्तचापका बिरामी रहेको बताउनुभयो । उहाँले कन्ट्याक्ट ट्रेसिङका लागि २० वटा टिम खटिरहेको बताउदै कन्टयाक्ट ट्रेसिङलाई १ हजार ७५ जनाको टोलि सक्रिय भएर लागिरहेको बताउनुभयो ।
६ देखि ८ दिनमा केस बढेर दोब्बर भइरहेको वर्तमान अवस्था रहेको बताउँदै उहाँले क्वारेन्टाइनमा रहेकाहरुमा परीक्षण बढाइएकाले संक्रमितको संख्या बढिरहेको र यो संख्या अझै बढ्न सक्ने उहाँले बताउनुभयो ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ४२१ जनालाई कोरोना भाइरस रोेग(कोभिड १९) को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दिउसो ४ बजेको अद्यावद्यिक अनुसार ३५७ पुरुष र ६४ महिलालाई कोरोना पोजेटिभको पुष्टि भएको छ ।
यो संगै कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । जसमा ८ हजार २०६ पुरुष र ८२० महिला रहेका छन् । संक्रमण ७५ जिल्लामा फैलिएको छ । आज १९४ जना डिस्चार्ज भएका छन् भने पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना पोजेटिभ भएका २३ जनाको मृत्यु भइसकेको छ ।
१ हजार ७७२ जना डिस्चार्ज भए
पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भएसँगै देशभर डिस्चार्ज हुनेको सख्या १ हजार ७७२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८ जनाको पीसीआर परीक्षण भएसंगै हालसम्म पीसीआरबाट परीक्षण भएको संख्या १ लाख ७५ हजार १७३ पुगेको छ ।
हालसम्म आरडीटिबाट २ लाख ६२ हजार १७४ को परीक्षण भएको छ जसमा पछिल्लो २४ घण्टामा ९ हजार ८७४ जनाका ७ हजार २३१ संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
तपाईँको अभिमत