आजको ग्रहणपछि कोरोनाको प्रभाव घट्छ, महामारी २ वर्षसम्म
काठमाडौं। पूर्वीय शास्त्रको प्राचीन ग्रन्थअनुसार आज लाग्ने सूर्य ग्रहणपछि कोरोना महामारी कम हुँदै जाने दावी गरिएको छ । ज्योतिष पण्डित डा. बासुदेवकृष्ण शास्त्रीले बृहत संहिता ग्रन्थमा यस समय धर्तीमा महामारी आउनेबारे चर्चा गरिएको दावी गर्नुभएको छ।
‘हजारौं वर्ष पहिले लेखिएको बृहत संहिता नामको ग्रन्थमा यस समय धर्तीमा महामारी आउने उल्लेख गरिएको छ’ उहाँले भन्नुभयो ‘त्यो महामारी साढे २ वर्ष रहने भनिएको छ ।’ ग्रन्थमा साँढे २ वर्ष महामारी रहने भनिएकाले अझै कोरोना महामारी २ वर्ष रहने उहाँको भनाइ छ।
प्राचीन देश(हालको चीन)बाट नै संसारभर महामारी फैलने चर्चा ग्रन्थमा गरिएको ज्योतिष बासुदेब शास्त्रीले बताउनु भयो । त्यसमा अहिलेको कोरोना जस्तो नभई हावाबाट महामारी फैलने भनिएको उहाँले जानकारी दिनुभयो । ‘प्राचीन ग्रन्थमा हावाबाट फैलने, फोक्सो तथा श्वासप्रश्वाससँग सम्बन्धित महामारी भनिएको छ’ उहाँ भन्नुहुन्छ, ‘यो त मान्छेलाई छोएर सर्ने भनिएको छ, यही महामारी पनि हुनसक्छ वा अर्काे महामारीको पनि संकेत गरेको हुनसक्छ ।’ कोरोना हावाबाट नसर्ने भनिएको छ तर यसले पनि श्वासप्रश्वासमा असर गर्ने भनिएकाले ग्रन्थमा उल्लेख भएको महामारीसँग दाज्ने आधार रहेको शास्त्री बताउनुहुन्छ ।
माहामारीको असर अझै २ वर्ष रहने भए पनि ग्रन्थको भनाइअनुसार आइतबारको सूर्यग्रहणपछि यसको असर घट्दै जाने उहाँले जानकारी दिनुभयो । विश्वमै यसबाट मृत्युदर घट्दै जाने र अब करिब ९० दिनमा यसकार प्रभाव कम हुने उहाँको दावी छ ।
आजको सूर्यग्रहण मेष, सिंह, कन्या र मकर राशीकाले हेर्दा शुभ हुने र अन्य राशीले हेर्दा अशुभ फल प्राप्त हुने उल्लेख गरिएको शास्त्रीले जानकारी दिनुभयो ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने, मध्याह्न १२ः३८ बजे मध्य हुने र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष हुनेछ । ग्रहणको अवधि ३ घण्टा ३३ मिनेटको रहनेछ ।
हेल्थपाटी
तपाईँको अभिमत