भागबण्डामा सहमतिपछि डीन कार्यालयमा लगाइएको ताला खोलियो
काठमाडौं । चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा बरियता मिचेर प्रा.डा दिब्या सिंहलाई नियुक्त गरेको भन्दै सत्तारुढ नेकपा निकट विद्यार्थीको नेतृत्वमा लगाइएको डीन कार्यालयको ताला खुलाइएको छ।
स्रोतका अनुसार सहायक डीनमा प्रा.डा प्रदीप वैद्य र अर्का एक जना र अस्पताल निर्देशक प्रा.डा दिनेश काफ्लेलाई नियुक्त गर्ने समझदारी भएपछि ताला खोलिएको हो। त्रिवि उपकुलपतिले नाम सिफारिसका लागि आजै सर्च कमिटी गठन गर्ने समझदारी भएको छ ।
अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी यूनियनको नेतृत्वमा आइओएमका प्राध्यापक, कर्मचारी संगठन,नेपाल विद्यार्थी संघले समर्थन जनाँउदै बिहीबार डीन कार्यालयमा ताला लगाइएको थियो । उनीहरुले स्वास्थ्य क्षेत्र सुधारका लागि डा.गोविन्द केसीले संघर्ष गरिरहेको अवस्थामा भागवण्डा र निकटताका आधारमा भएको डीन नियुक्ती स्वीकार्य नहुने र उहाँको आन्दोलनमा सहभागिता र ऐक्यवद्धता जनाएको व्यक्तिनै नेताको टिका लगाएर डीन बन्ने प्रवृत्ति अंगालेर दोहोरो चरित्र देखाएको भन्दै तालाबन्दी गरेका थिए । तर अन्य नियुक्तीको भागबण्डामा कुरा मिलेपछि ताला खुलाइएको स्रोतको भनाइ छ ।
त्रिवि कार्यकारी परिषदले सर्च कमिटीले सिफारिस गरेको तीन जनाको नाम मध्येबाट प्रा.डा. दिव्यासिंह शाहलाई डीनमा नियुक्ति गर्ने निर्णय गरेको थियो । प्रा.डा. शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख हुनुहुन्छ भने प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक हुनुहुन्छ । जेठ २२ गते प्रा.डा.जगदीश अग्रवाल डीनबाट अवकाश पाएपछि डीन पद रिक्त थियो ।
हेल्थपाटी
तपाईँको अभिमत