१२ वर्षीया बालिकामाथि पटकपटक बलात्कार, ज्यान मार्ने धम्की

प्रतिकारात्मक तस्बिर
धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। गौरीगंगा नगरपालिकाका १९ वर्षीय नवीन साउद र २० वर्षीय चन्द्र साउदलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले घटनाको अनुसन्धान भईरहेको बताए। ‘बालिकामाथि जवरजस्तीकरणी भएको भन्दै जाहेरी आएको छ,’ उनले भने, ‘दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौ।’
के हो घटना ?
गौरीगंगा नगरपालिकाकी १२ बर्षीया बालिकालाई १९ वर्षीय स्थानीय नवीन साउदले गएको १० जेठमा आँप खान बोलाए। साथीसँग खेलिरहेका बेला साउदले आफ्नो कोठामा बोलाएर बलात्कार गरेको बालिकाको भनाइ छ। त्यसपछि १२ जेठमा बिहानै भाइसँग चिनी किन्न पसलमा गएको बेला अर्का २० वर्षीय चन्द्र साउदले पनि बलात्कार गरेको बालिकाको आरोप छ।
सँगै गएका भाइलाई लखेटेर बालिकालाई नियन्त्रणमा राखी उनले जबर्जस्ती गरेका थिए। चिच्याएपछि दिनभर नछोड्ने भन्दै धम्काएर युवकले जबर्जस्ती गरेको बालिकाले बताएकी छन्। पसलमा ग्राहक आएपछि उनले बालिकालाई छोडेका थिए।
पिसाब फेर्न गाह्रो भएपछि र यौनाङ्गबाट रगत बग्न थालेपछि घटना भएको ५ दिनपछि बालिका हजुरआमासँगै इलाका प्रहरी कार्यालय राजीपुर चौकी गएकी थिइन्। बालिकाका अनुसार इलाका प्रहरी कार्यालयले उजुरी लिन नमानेर उल्टै जिस्क्याएर फर्काएको थियो।
पीडित बालिकाका बुबामा मानसिक समस्या छ भने आमाको ५ वर्षअघि नै मृत्यु भइसकेको छ। पीडित बालिका वृद्ध हजुरबुबा र हजुरआमासँग बस्छिन्। प्रहरी चौकी गएको थाहा पाएपछि पीडक भनिएका चन्द्र साउदका बुबाले बालिकाकी हजुरआमालाई खुकुरी देखाएर मार्ने धम्की समेत दिएको पीडित बालिकाले बताएकी छिन्।
उक्त घटनाबारे गौरीगंगा नगरपालिकाकी उपप्रमुख अन्चला चौधरीले उजुरी लिन आग्रह गर्दा समेत इलाका प्रहरी कार्यालयले उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि उपप्रमुख चौधरीले बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दिएकी छिन्। किटानी जाहेरीपछि उपप्रमुख चौधरीले आफूलाई फोनमा धम्की आइरहेको बताएकी छन्।
दिनेश खवरबाट ।
तपाईँको अभिमत