५८६ संक्रमित थपिए, अहिले सम्मकै उच्च, संख्या ७ हजार नाघ्याे
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ५८६ जनालाई कोरोना भाइरस रोेग(कोभिड १९) को पुष्टि भएको छ । २४ घण्टामा संक्रमण पुष्टि भएको यो अहिले सम्मकै सर्वाधिक संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा ५४६ पुरुष र ४० महिलालाई कोरोना पोजेटिभको पुष्टि भएको जानकारी दिनुभयो ।
यो संगै कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । जसमा ६ हजार ६३८ पुरुष र ५३७ महिला रहेका छन् । देशभर ७३ जिल्लामा संक्रमण फैलिएको छ । महोत्तरी र रौतहटमा धेरै संक्रमित भेटिएका छन् । महोत्तरीमा २०० र रौतहटमा १२७ जनालाई कोरोना पुष्टि भएको छ ।
उदयपुरका ४, सिरहाका ४, मोरङका ९, झापाका २, धनुषाका २६, बाराका ७, कपिलवस्तुका १०, सर्लाहीका ६, प्यूठानका ३८, अर्घाखाँचीका १२, कैलालीका १, पर्वतका ३, नवलपरासीपूर्वका १७, गुल्मीका २६, बाँकेका १, बर्दियाका ३१, दाङका ८, सल्यानका २५, सुर्खेतका २, दैलेखका २, कालिकोटका १४ लाई संक्रमण पुष्टि भएको छ ।
११६७ जना डिस्चार्ज भए
यसैगरी पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् । देशभर डिस्चार्ज हुनेको सख्या १ हजार १६७ पुगेको छ । जसमा ११२ महिला र १०५५ पुरुष रहेका छन् । प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर परीक्षण भएको जानकारी दिदै हालसम्म पीसीआरबाट १ लाख ४९ हजार ७७२ जनाको परीक्षण भएको बताउनुभयो ।
हालसम्म आरडीटिबाट २ लाख २३ हजार ५४३ को परीक्षण भएको छ जसमा पछिल्लो २४ घण्टामा ४ हजार १८३ जनाको आरडीटिबाट परीक्षण भएको छ । आज १ लाख २५ हजार ७९८ जना क्वारेन्टाइनमा बसिरहेका छन् । हाल ५ हजार ९९० संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
यस्तै कोरोनाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मिर्गौलाको समस्या भई भर्ना भएकी ४६ वर्षकी महिलाको मृत्यु असार १ गते भएको र कोरोना पोजेटिभको पुष्टि हिजो भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
हेल्थपाटी 
तपाईँको अभिमत