बिरामीले नै नचिन्ने भेषमा उपचार गर्नुपर्छ
रमाइलो छ कि पीडा भन्ने आफैलाई थाहा थियो
काठमाडौं । म एक विद्यालय नर्स हुँ । २ महिना अगाडि मात्र मेरो नियुक्ति इटहरीको राष्ट्रिय माध्यामिक विद्यालय आँपगाछीमा भएको थियो । नयाँ जोश र जाँगरका साथ विद्यालयमा नर्सिङ कार्यक्रमको योजनाहरु बनाउँदै थिँए तर नर्सिङ कक्षको व्यवस्थापन नै गर्न नपाई नेपाल पनि लकडाउन भयो । कोरोना भाइरस रोग (कोभिड १९) को संक्रमण रोकथाम र उपचारका लागि पुरा देश नै लकडाउन भएपछि म पनि घरमा नै बसेँ ।
विद्यालयका नानीबाबुलाई स्वास्थ्यका कुरा सिकाउन, बुझाउन र उपचार गर्न नपाई घरमा नै बस्नपर्दा मन खुशी त कहाँ थियो र ? बिरामीको उपचार गर्नुनै प्रमुख कर्तव्य रहेको हामी नर्स बिरामीको उपचार गर्न नपाउँदा दुःख लाग्दो रहेछ । तर साथीहरुले भने तँलाई त कति रमाईलो, विद्यालय बन्द भएपछि घरमा नै बस्न पाउने भन्ने गर्थे, रमाइलो छ कि पीडा भन्ने आफैलाई थाहा थियो ।
नर्स भएपछि विद्यालय होस् या स्वास्थ्य संस्था । जिम्मेवारी धेरै थोरै होला तर कर्तव्य त एउटै हो बिरामीको उपचार गर्ने नै । कोरोनाको महामारी दिन प्रतिदिन बढ्दै गयो । अरु सामान्य बेलामा त बिरामीको तुलनामा नर्सको संख्या न्युन छ झन् यो संक्रमणका बेला त अपूग हुनेनै भयो । त्यसैले विद्यालय नर्सलाई पनि कोरोना उपचारमा सहभागि गराउनु स्वभाविक ।
प्रदेश १ सरकारले कोशी कोभिड १९ अस्पताल बिराटनगरमा विद्यालय नर्सहरु खटिनपर्ने भन्ने पत्र मलाई पनि आयो । सुरुमा डर लाग्यो । यसअघि कहिले नसुनेको कहिले पनि यस्तो संक्रामक रोगको उपचारमा सहभागि नभएको र बिरामीले नै नचिन्ने भेषमा उनीहरुको उपचार गर्नुपर्छ होला भन्ने कल्पना समेत नगरेकी मलाई डर लाग्नु त स्वभाविकनै थियो ।
म त अग्रपंक्तिको सिपाही हुँ । यो भाइरस विरुद्ध ढाल बनेर म उभिनुपर्छ
तर उच्च मनोबलसहित बिरामीको उपचारमा लाग्नु मेरो अहम दायित्व थियो । घरपरिवारले कोरोनाको उपचार नजान भनिरहनुभएको थियो तर मैले घरपरिवारलाई सम्झाए, बुझाए र आश्वस्त पारे कि म त अग्रपंक्तिको सिपाही हुँ । यो भाइरस विरुद्ध ढाल बनेर म उभिनुपर्छ भन्ने मानसिकता बनाई म कोरोना संक्रमितको उपचारमा सहभागि भँए । त्यतिबेला ठान्थे कस्तो रोग जसको सामान्य लक्षण तर अवस्था र उपचार पद्धति असामान्य । शीर देखि पाउसम्म गुम्सिने गरि पीपीई लगाएर बिरामीको उपचारमा खटिन थाँले ।
अब मलाई यो रोग अनि अहिलेको परिस्थिति सामान्य लाग्दैछ । मेरो कर्तव्य र अनुभवले मलाई सामान्य बनायो र अब बिरामी अनि सबै सर्वसाधरणले यसलाई सामान्य नै ठान्नुपर्छ । डर चिन्ता लिने होइन उच्च सावधानी भएर भाइरसबाट जोगिने रहेछ । सामाजिक दुरी कायम राख्ने, साबुनानीले हात धुने, मास्क लगाउनुनै यसबाट जोगिने उपाय हा भन्ने कुरा त साना साना भाइबहिनीलाई पनि थाहा भइसक्यो ।
कोरोना संक्रमितको उपचारका क्रममा मेरी सहकर्मी दिदि शाल्मली पौडेल सँगसँगै हुन्थयौ । सुरुमा डर र दिक्क लाग्ने हाम्रो दैनिकी रमाइलो र सामान्य हुँदै गएको छ । हामीले प्रत्यक्ष उपचार गरेका ३१ जना संक्रमित निको भएर घर गइसक्नुभएको छ ।
जसले आत्मबल उच्च बनाए र छिट्टै निको भए
हाम्रो १४ दिनको ड्युटीमा ३१ जना कोरोना संक्रमित निको भएर घर फर्कनुभयो त्यो पनि एकै दिनमा २७ जना । मन फुरुङ्ग भो, खुशीको सिमानै रहेन । स्वास्थ्यकर्मीलाई बिरामी निको भएर घर जाँदाको जस्तो खुशी त अरुबेला जे गरेपनि हुँदैन । म अहिले १४ दिनको ड्युटी सकी क्वारेन्टाइनमा बसिरहेको छु, म ती मेरा बिरामीलाई सम्झिरहेको छु जसले आत्मबल उच्च बनाए र छिट्टै निको भए ।
मैले कोरोना उपचारमा सहभागि हुँदा म आफैले बिरामीबाट धेरै कुरा सिक्ने मौका पाए । सकारात्मक सोचका साथ अघि बढेमा जस्तोसुकै संकटको पनि सामना गर्न सकिन्छ । अब केही दिनपछि म लगायत क्वारेन्टाइनमा बसिरहेका हाम्रो पीसीआर परीक्षण हुनेछ । सबैजनाको रिपोर्ट नेगेटिभ नै आउछ भन्नेमा विस्वस्त छु ।
(लेखक हाल, कोशी कोभिड-१९ अस्पताल विराटनगरमा हुनुहुन्छ।)
तपाईँको अभिमत