आरडीटी पोजेटिभ देखिएपछि स्वास्थ्यकर्मीमाथि कुटपिट
बाजुरा । हिमाली गाउँपालिका ५ कवाडीको क्वारेन्टाइनमा बसेकाहरुले आरडीटी परिक्षण गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङगामुडा प्रहार गरेका छन् । भारतलगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टाइनमा वसीरहेकाहरुले आरडीटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मी माथि ढुङगामुडा प्रहार गरेका हुन् ।
१४ दिन पुरा भएपछि गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर भण्डारी आफै आरडीटी टेष्ट गर्न जानुभएको थियो । केहि व्यक्तिको आरडिटी टेष्ट गरी सकेपछि एक महिलाको आरडीटी रिपोर्ट पोजेटिभ आयो र त्यसपछि किन आरडीटी रिपोर्ट पोजेटिभ निकालिस भन्दै स्वास्थ्यकर्मीमाथि नै ढुङगामुडा प्रहार गरेको बुझीएको छ ।
प्रहार गरेको दुङगा लागेर गाउँपालिका स्वास्थ्य संयोजक भण्डारी घाइते भएका छन् । भण्डारीको छातिमा गम्भीर चोट लागेपछि अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भैरहेको प्राथमीक स्वास्थ्य केन्द्रका कोबिड १९ रोकथाम तथा नियन्त्रण समिति फोकल पर्सन ओमजंग शाहीले जानकारी दिनुभयो ।
स्वास्थ्य संयोजक भण्डारीको छातिमा निलडाम परेको छ र स्वास्थ्यकर्मी भण्डारी बोल्न सक्ने स्थितिमा नभएको बताएका छन् । थप जाँच भइरहेकाले अवस्था अनुसार रिफर गर्ने नगर्ने बारे प्राथमिक स्वास्थ्य केन्द्रले पछि निर्णय गर्ने बताइएको छ ।
कोरोना संक्रमणको जोखिम उच्च रहेका बेला क्वारेन्टाइनमा बसेकाहरुबाटै स्वास्थ्यकर्मी माथि ढुङगामुडा प्रहार भएको प्रति हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले खेद व्यक्ति गर्दै संलग्नलाई कारवाहीका लागि कानुनी प्रक्रियामा जाने बताउनुभयो ।
हिमाली गाउँपालिका जस्तो दुर्गम ठाउँमा स्वास्थ्यकर्मी नै नपाइने ठाउँमा स्थानीयले गरेको यस्तो ब्यवहारले झनै समस्या हुने गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयले आवश्यक कारवाहीका लागि स्थानीय प्रहरी प्रशासनलाई निर्देशन दिएको छ । हिमाली गाउँपालिकामा विभिन्न तीन स्थानमा गरिएको परिक्षणमा आज ३ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएको छ ।
बाजुराबाट लक्ष्मीराज पाध्याय
तपाईँको अभिमत