ट्राफिकमा कम भयो स्वास्थ्य समस्या, काेराेनाबाट कति सुरक्षित ?
कोरोनाविरुद्ध सचेतना जगाउँदै ट्राफिक प्रहरी
बिना पासका ६७ हजार र पासको दुरुपयोग गरेका ३४ हजार सवारी साधनलाई कार्वाही
काठमाडौं । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी कोरोना भाइरस रोग (कोभिड १९) विरुद्धको लडाँइका अग्र स्थानका सिपाही हुन् । ट्राफिक प्रहरी अहोरात्र सडकमा छन् । उनीहरुले सवारी साधनको जाँच गर्नुपर्ने हुन्छ अर्थात् उनीहरु धेरै मानिसको प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने हुन्छ त्यसैले ट्राफिक प्रहरीहरु संक्रमणको उच्च जाेखिममा छन् ।
हालसम्म एक जना ट्राफिक प्रहरीलाई पनि कोरोना संक्रमण भएको छैन । महानगरीय ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भीमप्रसाद ढकाल उच्च सावधानी अपनाएकै कारण संक्रमणबाट अहिलेसम्म जाेगिएकाे बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ‚ “हामीले निकै सावधानी अपनाएका छौं । सबैभन्दा महत्वपूर्ण कुरा सामाजिक दुरी कायम गरि चेकजाँच गरेका छौ, ड्युटीमा नै रहेका ट्राफिकहरु पनि कम्तिमा २ मिटरको दुरीमा बस्न लगाएका छौ, चस्मा, मास्क, पञ्जा सहित व्यक्तिगत सुरक्षाका सबै उपाय अपनाएका छौ, ट्राफिक प्रहरीहरुलाई आइसोलेट भई बस्ने व्यवस्था गरिएको छ, अहिले घरपायक ड्युटी मिलाइएको छ, अनावश्यक कार्यालय आउजाउमा पूर्ण रोक लगाएका छौ र ड्युटीबाट घर फर्किएपछि सेल्फ क्वारेन्टाइनमा बस्न लगाएका छौ, ट्राफिकलाई सचेतनाका कक्षाहरु लिइरहेका छौ ।”

प्रहरी वरिष्ठ उपरिक्षक भीमप्रसाद ढकाल
लकडाउनको समयमा धुलो–धुँवा कम हुनुका साथै वातावरणीय स्वच्छताका कारण ट्राफिक प्रहरीमा स्वास्थ्य समस्या कम देखिएको बताउनुभयो । यसअघि ट्राफिक प्रहरीमा अनिन्द्रा, स्वासप्रस्वाँसको समस्या, टाउको दुख्ने समस्या, उच्च रक्तचाप लगायतका समस्यामा अहिले कमि आएकाे पनि ढकालले बताउँनुभयो ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक १० जनामध्ये ९ व्यक्ति प्रदूषित हावाको सास लिइरहेका छन् । विश्वमा ७० लाख मृत्यु प्रदूषित वायुका कारणले सृजित रोगहरुबाट हुने गर्दछ । बरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार प्रदूषित वायुका कारण आँखा, नाक, कान, घाँटी, छालामा एलर्जी हुनुका साथै मानसिक र न्यूरोलोजीमा पनि असर देखिन्छ । वायु प्रदूषणले फोक्सोमा चुरोटको धुँवा सरह नै असर गर्ने भएकाले धुवाँ धुलोमै रही काम गर्नुपर्ने भएकाले ट्राफिक प्रहरीलाई विभिन्न स्वास्थ्य समस्या देखिने गरेको पाइएको उहाँले बताउनुभयो ।
आजदेखि जोर–बिजोर प्रणालि
आजदेखि जोर–बिजोर प्रणालि अनुसार सवारी साधन चल्ने भएका छन् । ४ पांग्रे सवारी साधनलाई जोरबिजोर प्रणालि लागु गरेको छ । यो सँगै सडकमा सवारी चाप बढ्नेछ । लकडाउन खुकुलो भएसंगै सडकमा सवारी साधनको चाप बढ्दै गएको बताउँदै महानगरीय ट्राफिक प्रहरी प्रमुख ढकालले ट्राफिकलाई आफ्ना ड्युटी सँगसँग नागरिकलाई पनि सचेत गराउन प्लेकार्ड सहितको अभियानमा जुटेको बताउनुभयो ।
उहाँले भन्नुभयो, अब सवारी चाप बढ्नेछ कोरोना भाइरसबाट सडक प्रयोगकर्तामा हुने जोखिमलाई मध्यनजर गरी ट्राफिक प्रहरीले ड्युटीका साथै सचेतनाका लागि प्लेकार्ड सहित उपत्यकाका मुख्य चोक एवं भिडभाड हुने क्षेत्रमा नागरिकलाई सचेतना जगाउन, सामाजिक दूरीको पालना गराउन तथा सवारी साधनमा हुने भिडभाड कम गराउन उनीहरु खटिनेछन् ।
‘सधैँ मास्क लगाएर यात्रा गरौँ, जोर विजोर नियम पालना गरौँ, सवारी साधनमा सामाजिक दुरी कायम गरौँ, जथाभावी हिडँडुल नगरौँ र ट्राफिक नियमको पालना गरौँ लेखिएका प्लेकार्ड छन् । उपत्यकामा १ हजार ५४५ ट्राफिक प्रहरी छन् ‘अहिले महाशाखा र मातहतका कार्यालयबाट ८२ स्थानमा २ सय बढी ट्राफिक प्रहरी परिचालित छन् ।

दैनिक बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म र बेलुकी ४ः०० बजेदेखि ७ः०० बजेसम्म प्लेकार्ड देखाउने विशेष टोली परिचालन गरिएको ढकालले जानकारी दिनुभयो । लकडाउन अवधिभर १ लाख सवारी साधन कार्वाहीमा परेका छन् । चैत ११ गतेदेखिको लकडाउन उल्लंघन गरेका सवारी साधनलाई कार्वाही गरेको यसमा बिना पासका ६७ हजार र पासको दुरुपयोग गरेका ३४ हजार सवारी साधन रहेको उहाँले बताउनुभयो ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत