भारतमा पनि कोरोना उपचारमा रेम्डिसिभिर औषधि सुरु
भारतमा कोरोना भाइरस रोग(कोभिड १९) को उपचारमा रेम्डिसिभिर, टोसिलीजुनाब र प्लाज्मा थेरापी प्रयोग गर्न अनुमति दिइएको छ । यी औषधि मध्यम तथा गम्भिर प्रकृतिका लक्षण भएका संक्रमितका लागि प्रयोग गर्न अनुमति दिइएको हो । एन्टीभाइरल औषधि रेम्डिसिभिरलाई भारतको उच्च औषधि नियमन तथा नियन्त्रण निकायले जुन १ बाट संक्रमितको उपचारमा प्रयोग गर्न अनुमति दिएको हो ।
एन्टीभाइरल औषधि रेम्डिसिभिर अमेरिकाको गिलियड विज्ञानले उत्पादन गरेको औषधि हो जुन इबोलाको उपचारमा पनि प्रयोग गरिएको थियो । कोरोना उपचारमा विश्वभर यो औषधिको परीक्षण भयो र फरक फरक नतिजा आएको छ । यस्तै टोसिलीजुनाब औषधि मुम्बईका बिरामीमा दिन सुरु भइसकेको छ । भारतमा प्लाज्मा थेरापीबाट पनि संक्रमितको उपचार भएको छ तर यसको प्रभावकारीता उत्साहजनक देखिएको छैन ।
भारत संक्रमण उच्च रहेको देशमध्ये चौथोमा पर्दछ । भारतमा पछिल्लो २४ घण्टामा ११ हजार ४५८ संक्रमित थपिएका छन् । यो संगै संक्रमितको संख्या ३ लाख ८ हजार ९९३ पुगेको छ जसमा १ लाख ४५ हजार केस एक्टिभ छ । विश्वमा कोरोना संक्रमित धेरै रहेको देशमा अमेरिका पहिलोमा पर्दछ । जहाँ २० लाख ७४ हजार ५२६ लाई कोरोना पुष्टि भइसकेको छ ।
यस्तै ८ लाख ५० हजार ५१४ संक्रमण पुष्टि भइसकेको ब्राजिल दोस्रोमा छ । रुसमा ५ लाख १९ हजार ४५८ जना संक्रमित छन् भने बेलायतमा पाचौं स्थानमा छ जहाँ २ लाख ९५ हजार ८२८ जना संक्रमित छन् । स्पेनमा २ लाख ४३ हजार ६०५, इटालीमा २ लाख ३६ हजार ६५१, पेरुमा २ लाख २० हजार ७४९,फ्रान्समा १ लाख ९३ हजार ७४६ र जर्मनीमा १ लाख ८७ हजार २६७ जनालाई कोरोना पुष्टि भएको छ ।
हालसम्म विश्वमा ७७ लाख १५ हजार मानिसमा संक्रमण देखिएको छ भने ४ लाख २७ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । बीबीसी ।
तपाईँको अभिमत