अग्रपंक्तिका डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी मानसिक रोगको शिकार
सर्भेक्षणमा सातै प्रदेशका ४७५ जना स्वास्थ्यमकर्मीहरु सहभागि थिए
४१.९ प्रतिशतमा एन्जाइटी, ३७.५ मा डिप्रेशन, ३१.९ मा अनिन्द्रा र ४६.१ प्रतिशत स्वास्थ्यकर्मीमा कोरोनाको डर जसमा नर्सको संख्या धेरै
काठमाडौं । नेपालमा कोरोना भाइरस रोग(कोभिड १९)को उपचारमा अग्र पंक्तिमा खटिएका डाक्टर, नर्स, प्रयोगशालाकर्मी लगायत स्वास्थ्यकर्मीहरु मानसिक तनावमा रहेका छन् । उनीहरुमा लामो समयको खटाई, व्यक्तिगत सुरक्षा सामग्रीको अभाव, कोरोना भाइरस संक्रमणको डर, घर–समाजको असहयोगले उनीहरुको मानसिक स्वास्थ्यमा असर देखिएको हालै गरिएको एक अध्ययनको निष्कर्ष रहेको छ ।
नेशनल एकेडेमी फर मेडिकल साइन्सेस (न्याम्स्) का मनोचिकित्सक विभागका सह–प्राध्यापक डा.देब्रत जोशीको सुपरीवेक्षणमा आवासीय चिकित्सक डा.नविन देवकोटा र त्रि.वी चिकित्साशास्त्र संस्थान (आइओएम)का जनस्वास्थ्य विभागका प्रतिक खनालको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको अवस्थाका विषयमा गरिएको अध्ययनबाट कोरोना उपचारमा अग्र पंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुमा मानसिक रोगको लक्षण देखिएको पाइएको हो ।
बैशाख १४ देखि ३० गतेसम्म गरिएको अनलाइन सर्भेमा सातै प्रदेशका गरि ४७५ जना स्वास्थ्यमकर्मीहरु सहभागि थिए । जसमा १६२ जना डाक्टर, १६७ जना नर्स र प्रयोगशालाकर्मी, जनस्वास्थ्यकर्मी लगायतका अन्य स्वास्थ्यकर्मी १४६ जनाले सर्भेमा आफ्नो बारेमा जानकारी गराएको अध्ययन नेतृत्वकर्ता डा.नविन देवकोटाले बताउनुभयो ।
उहाँका अनुसार ४१.९ प्रतिशत स्वास्थ्यकर्मीमा एन्जाइटी, ३७.५ प्रतिशतमा डिप्रेशन, ३१.९ प्रतिशतमा अनिन्द्रा र ४६.१ प्रतिशत स्वास्थ्यकर्मीमा कोरोनाको डर छ ।
कोरोनाको उपचारमा खटिएकै कारण रोग सार्ने आरोपमा घरबेटीले कोठा सर्न दबाब दिएको तथा समुदायले अपहेलना सहन बाध्य भएका स्वास्थ्यकर्मीहरुको हिस्सा ५३.७ प्रतिशत रहेको र उनीहरुमा नै धेरै एन्जाइटी, डिप्रेशन र अनिन्द्राको समस्या धेरै रहेको छ ।
व्यक्तिगत सुरक्षा कवचको अभाव रहेको बताएका ७३.५ प्रतिशत स्वास्थ्यकर्मीहरुमा भने कोभिड सम्बन्धी डर, एन्जाइटी र डिप्रेशनको शिकार भएको जसमा नर्सको संख्या धेरै रहेको देवकोटाले बताउनुभयो । यस्तै ४९.५ प्रतिशत स्वास्थ्यकर्मीहरु ओभरटाइम काम गर्नुपर्ने बाध्यता छ जसले उनीहरुमा एन्जाइटी, अनिन्द्राको समस्या निम्तिएको छ ।
५१ जना संक्रमित रहेको अवस्थामा सुरु गरिएको सर्वेक्षण बैशाख ३० गते आइपुग्दा संक्रमितको संख्या १९१ पुगेको थियो
यस्तै घर र समुदायबाट सहयोग नपाउदा, पीपीइ नहुँदा आफैलाई संक्रमण हुने र आफुले घरमा रहेकालाई कोरोना सार्ने डरले धेरै नर्सहरुमा डिप्रशेन र एन्जाइटीको समस्या देखिएको छ । देवकोटाले भन्नुभयो, यो अध्ययन नेपालमा कोरोना भित्रिएको सुरुवाती दिनको हो,अहिले संक्रमण बढेकाले मानसिक रोगका शिकार भइरहेका स्वास्थ्यकर्मीहरुको संख्या अझै बढेको छ यस अवस्थामा उनीहरुको मानसिक स्वास्थ्यमा पर्न गएको असरको कारण पहिल्याई समाधान गर्नेतर्फ सरोकारवालाको ध्यान जान जरुरी छ स्वास्थ्यकर्मीहरु कोरोना विरुद्धको लडाँइमा अग्रपंक्तिका सिपाही हुन् बैलेमा ध्यान नदिए स्थिति भयावह नहोला भन्न सकिन्न ।
यसका लागि अग्र पंक्तिमा काम गरिररहेका स्वास्थ्यकर्मीहरुलाई केन्द्रित गरि मानसिक स्वास्थ्य कार्मक्रम ल्याउनपर्ने, सिफ्ट अनुसार जनशक्तिको व्यवस्थापन गरि स्वास्थ्यकर्मीलाई खटाउनपर्ने तथा पर्याप्त पीपीईको पर्याप्त व्यवस्था हुनपर्ने सुझाव दिनुहुन्छ देवकोटा । ५१ जना संक्रमित रहेको अवस्थामा सुरु गरिएको सर्वेक्षण बैशाख ३० गते आइपुग्दा संक्रमितको संख्या १९१ पुगेको थियो । हाल नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगिसकेको छ भने १६ संक्रमितको मृत्यु भइसकेको छ ।
तपाईँको अभिमत